हेटौंडा उपमहानगरपालिकाको चालु आर्थक वर्ष २०८१/०८२ को हिउँदे अधिवेशन ५ पुसमा भएको छ । हेटौंडाको यो अधिवेशन १६औं हो । सभामा उपमहानगरपालिकाले मंसिर मसान्तसम्ममा कुल बजेटको ४५ करोड ११ लाख ६८ हजार रुपैयाँ अर्थात २१.१२ प्रतिशत रकम खर्च गरेको जानकारी दिएको छ ।

पालिकाको कुल खर्च मध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ९१ लाख ३५ हजार रुपैयाँ अर्थात २७.८४ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ २२ लाख ४७ हजार रुपैयाँ अर्थात ७.०३ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ ४ करोड ३८ लाख ८८ हजार रुपैयाँ अर्थात १०.७८ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ २५ करोड ११ लाख ४३ हजार रुपैयाँ अर्थात २४.६७ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ४७ लाख ५० हजार रुपैयाँ अथात सबैभन्दा कम ३.२८ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्षको यस अवधिमा अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रमहरु सम्झौता भई कार्य सञ्चालनको क्रममा रहेको उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी हेटौँडा उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १६औं अधिवेशनले चालु आर्थिक वर्षको बजेट करिव २० करोड रुपैयाँले बढाएको छ । नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा ५ पुसमा बसेको उपमहानगरपालिकाको १६औं अधिवेशनले चालु आर्थिक वर्षको बजेटमा १९ करोड ९७ लाख रुपैयाँ थप गरेको हो । उपमहानगरपालिकाले गत असार ७ मा चालु आर्थिक वर्षका लागि २ अर्ब ५२ करोड रुपैयाँ बजेट ल्याएको थियो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार गर्न बजेट संशोधन गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । विषयगत समितिबाट पेश भए अनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, ईन्धन तथा सवारी साधन मर्मत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वहुवर्षीय योजनाहरुको भुक्तानी, गत वर्ष जिम्मेवारी सरेका योजनाहरुको भुक्तानी, नगर अस्पताल संचालन एवम् स्वास्थ्य सम्बन्धी कार्यक्रम लगायतका अनिवार्य दायित्व र खर्चका लागि उक्त बजेट कार्यान्वयन गरिने प्रवक्ता न्यौपानेले जानकारुी दिए । उनका अनुसार नदिजन्य पदार्थ उत्खनन तथा बिक्रि वितरण, आन्तरिक राजस्वका स्रोत तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा गरिने छ ।

नगरसभामा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको आय तथा खर्च विवरण प्रस्तुत गरिएको थियो । सो अवधिमा उपमहानगरले संघीय सरकार समानीकरण तथा सशर्त अनुदानतर्फ ४५ करोड ८ लाख ९० हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, सशर्त र समपूरक अनुदानतर्फ ३ करोड ८ लाख ३२ हजार रुपैयाँ, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ १४ करोड ६८ लाख ९ हजार रुपैयाँ र आन्तरिक स्रोत कर, राजश्व शुल्क र गत वर्षको नगद मौज्दात समेत गरी २० करोड ६२ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । नगर विकास कोषबाट ऋण वापत १ करोड ४८ लाख ४२ हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी