योजना सम्झौताको विषयलाई लिएर वडाध्यक्षनै तोडफोडमा उत्रिएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको कामकाज अन्यौल बनेको छ । वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिनै तोडफोडमा उत्रिएपछि कर्मचारीहरु कार्यालयमा पुगेर काम गर्ने मनस्थितीमा छैनन् ।

कर्मचारी कार्यालयमा नआए नियमित कामकाज प्रभावित हुनेछ । उपमहानगरपालिकाको कार्यालयमा विहिवार भएको घटनापछि अधिकांश कर्मचारी त्रसिद देखिएका छन् । उनिहरुले स्थिती सामान्य नभएसम्म काममा फर्कनुको औचित्य नरहेको बताउन थालेका छन् । ‘वडाध्यक्षबाट भएको घटनाले कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण देखिदैन्’ कार्यालयका एक कर्मचारीले भने ‘जनप्रतिनिधिबाटै भएको यो घटना सामान्य होईन्, यसलाई गम्भिरताका साथ लिएका छौं ।’ कार्यालयमा काम गर्ने सुरक्षित वातावरण नबनेसम्म आफूहरुको उपस्थिती नरहने ति कर्मचारीले बताए ।

कार्यसम्पादनका क्रममा आउने समस्यालाई संवाद र छलफलको माध्यमबाट समाधान गर्न सकिने भएपनि तोडफोडमा उत्रनु र सरकारी सम्पतीमाथी क्षति पुर्‍याउनु गैरजिम्मेवारीपूर्ण कार्य भएको कर्मचारीको भनाई छ । जनप्रतिनिधिबाटै कार्यालय र कर्मचारी सुरक्षित नहुनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय भएको कर्मचारीहरु बताउछन् ।

वडाको योजनाको सम्झौता गर्न कर्मचारीले ढिलाई र आनाकानी गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १७ का वडाध्यक्ष नवराज खड्काले उपमहानगरपालिकामा तोडफोड गरेका थिए । खड्काले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाको कार्यकक्षमा तोडफोड गरेका हुन् । खड्काको तोडफोडबाट कम्प्युटर, प्रिन्टर, फर्निचरमा क्षति पुगेको छ । योजना सम्झौताको विषयमा छलफल छलिरहेकै बेला खड्का आक्रोशित हुदै तोडफोड गरेका थिए । कार्यालयमा तोडफोड गरेर खड्का पुनः छलफलमा बसेका थिए । घटनापछि प्रहरीले क्षतिको विवरण संकलन गरेको छ ।

पालिका प्रेस
थप जानकारी