उद्यमशीलताको विकास तथा साना उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकाले दायित्व नामक संस्थासँगको सहकार्यमा गत वर्षदेखि सुरू गरेको कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो।

गतवर्ष जस्तै यसवर्ष पनि उक्त कार्यक्रममा १ सय २५ जना साना तथा घरेलु उद्यमीहरूले आवेदन दिएर सहभागी भएका थिए। ६ महिनाअघि आवेदन दिएका १ सय २५ बाट विभिन्न तालिम, उनीहरूले सञ्चालन गरेको उद्यमको अनुगमन तथा मूल्यांकनको आधारमा उत्कृष्ट ४० र २० गर्दै बिहीबार उत्कृष्ट १० उद्यमी छनोट गरिएको छ।

दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले तिलोत्तमा नगरपालिकाभित्र साना तथा घरेलु उद्यम सञ्चालन गरेर उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकाहरूलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको विकास गर्ने उद्देश्यले यसप्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिए। थापाका अनुसार उत्कृष्ट १० जनाबाट पनि एक जना उत्कृष्ट छनोट गरी १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ। उत्कृष्ट १० उद्यमीलाई पनि जनही २५ हजारका दरले लगानीका लागि कोष प्रदान गरिएको छ। उक्त कोष आफ्नो व्यवसाय प्रवर्द्धनका लागि लगानी गर्न नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत गंगाराम आचार्यले उद्यमशील तिलोत्तमाको परिकल्पनासहित नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम सञ्चालन गरिएको बताए। उत्कृष्ट १० उद्यमीमा छनोट हुनेहरूमा तिलोत्तमा १ को थापा कृषि फर्म, शुभलाभ अचार व्यवसाय, मालिका व्यवसायिक पशुपालन फर्म, वडा नं.२ को नवदुर्गा फुड इण्डष्ट्रिज र तिलोत्तमा ३ को नालन्दा हेण्डी क्राफ्ट रहेका छन्।

त्यस्तै, वडा नं. ७ को न्यू गण्डकी पशु फर्म, वडा नं.१० को पोखरेल पशुपालन फर्म, वडा नं. १४ को गरार एकीकृत पशुपंक्षी तथा कृषि फर्म, दाजुभाइ पशुपंक्षी तथा कृषि फर्म र वडा नं. १५ को पुन कृषि तथा पशुपालन फर्म रहेका छन्।

पालिका प्रेस
थप जानकारी