संखुवासभाकाे चैनपुर नगरपालिकामा बेरुजुको चाङ बढेको छ । गठबन्धनका चार दलले नगर प्रमुख भरतकुमार खत्रीको नेतृत्वमा अनियमितता भएको आरोप लगाएका छन् । खत्रीकै नाममा ४ बर्षदेखि आएको बेरुजु अझै नतिरेको भन्दै विरोध सुरु भएको छ । नगरपालिकामा बिभिन्न शीर्षकमा करोडौंको अनियमितता भएको राजनीतिक दल र नगरवासीले आरोप लगाएका हुन् ।

चैनपुर नगरपालिकामा रहेका नेकपा एमालेबाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका हुन् । नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र स्थानीयले प्रमुखको नेतृत्वमा भएको बेरुजु उठाउनुपर्ने भन्दै विरोध जनाएका छन् । जनप्रतिनिधिले नियमविपरीत रकम लिने अनि महालेखा परीक्षकको प्रतिवेदनलाई बेवास्ता गरी फिर्ता नगरेको कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले बताए । उनले प्रमुखसहित वडाध्यक्ष, स्वकीय सचिव र केही कर्मचारीको नाममा लाखौंको बेरुजु भेटिएको उल्लेख गर्दै भने, ‘यो बजेट अनियमितता गरेको हो, तत्काल बेरुजु रकम फिर्ता नगरे आन्दोलनमा उत्रिन्छौं ।’

एकृकीत समाजवादीका नेता उमेश डाँगीले पनि प्रतिवेदन आइसकेपछि पनि सुध्रिएलान् भनेर यत्तिकै छोड्दै ३ वर्ष बितेको जनाउँदै भने, ‘नगरमा करोडौंको भ्रष्टाचार गरेर अझै गुपचुप गराउने खेलमा लागेको देखियो ।’ जनप्रतिनिधिबाटै आर्थिक अनियमितता भएको भन्दै स्थानीयले समेत चिन्ता व्यक्त गरेका छन् । स्थानीय ज्ञानबहादुर कार्कीले भने, ‘जनताले तिरेको करबाट सीमित व्यक्तिहरूले ब्रह्मलुट गरे ।

बेरुजु न्यूनीकरण गर्न लाग्नुपर्नेमा उल्टै जनप्रतिनिधिले खाएको देखियो ।’ चुनावी वाचालाई बिर्सेर आर्थिक अपचलनमा नगर प्रमुख र वडाध्यक्षहरू नै सक्रिय भएको देखिएको उनको भनाइ छ ।  नगर प्रमुखले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेस्की लिएको, चीन भ्रमणमा नियमविपरीतको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खननबाट प्राप्त कर, ठेकेदार कम्पनीसँगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ ।

नगरपालिकाबाट प्रमुखका निजी स्वकीय सचिवका नाममा जम्मा गरेको रकममा समेत बेरुजु आउनु झनै शंका थपेको नगरबासीको गुनासो छ । नगर प्रमुख भरतकुमार खत्रीले यस विषयमा तत्काल प्रतिक्रिया दिन नसक्ने बताए । उनले प्रतिवेदन अध्ययन गरेर आवश्यक भए पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए ।

पालिका प्रेस
थप जानकारी