आफ्नै कर्मचारी भर्ना गर्न र भएका कर्मचारी व्यवस्थापनका लागि बागलुङको ताराखोला गाउँपालिकाले स्थानीय सेवा ऐन ल्याएको छ । ताराखोला गाउँपालिकको १०औं सभाले स्थानीय सेवा विधेयक २०७८ पारित गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । यसअघि कार्यपालिकाले विधायन समिति गठन गरेर मस्यौदा बनाउन लगाएको थियो ।

मस्यौदालाई कार्यपालिकाले पारित गरेपछि २४ माघको गाउँसभामा पेश गरिएको थियो । सभाले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । संघीय र प्रदेशको निजामती ऐन नआउँदा रोकिएका काम यो ऐनले गर्नेछ । ऐनमा संघीय र प्रदेश ऐन आएमा बाझिने बुँदाहरू संशोधन गर्ने उल्लेख छ । ताराखोलाले जनप्रतिनिधि आएपछि कर्मचारी आर्कषण गर्न दुर्गम भत्ताको रुपमा केही रकम थप गरेको थियो । ‘ग्रामीण क्षेत्रको पालिका भएकाले कर्मचारी टिकाउन केही प्रोत्साहन पनि दिएका थियौं, अहिले कानुन बनायौं’ घर्तीले भने, ‘कर्मचारी नियमित बसिदिएमा पालिकाले ल्याएका नीति कार्यान्वयन गर्न सजिलो हुन्छ ।’ संघ र प्रदेशमा कार्यरत कर्मचारीहरू पालिका तहमा नजाने भएकाले अन्यत्रसमेत समस्या थियो । अहिले पनि बागलुङका अन्य पालिकामा कर्मचारी अभाव छ ।

ऐनले कर्मचारीको स्तरवृद्धि, सेवासुविधासमेतको व्यवस्था गरेको छ । ३५ वर्ष काम गरेको कर्मचारी भए बिदाइ गर्ने र प्रोत्साहन रकमसमेत दिने व्यवस्था छ । ताराखोलाले अन्य दर्जनभन्दा बढी ऐन पनि ल्याइसकेको छ । ताराखोलाले आगामी शैक्षिक सत्रबाट लागू गर्ने गरी स्थानीय पाठ्यक्रम पनि तयार पार्दैछ ।

यसअघि बागलुङ र ढोरपाटन नगरपालिकाले ऐन ल्याएपनि कार्यान्वयन भएको छैन ।

पालिका प्रेस
थप जानकारी