
थाहा नगरपालिकाको २६ पुसमा आव्हान भएको १७औं नगरसभा विभिन्न शीर्षकको संशोधित बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । पालुङ जेसिज सभाहलमा आयोजित नगरसभाले बजेट संशोधनसहित अन्य विविध प्रस्तावहरु पनि पारित गरेको छ । पालिका अन्तर्गतको १२ वटै वडाहरु, नगरस्तरीय र विषयगत समितिस्तरीय योजनाहरु संशोधनका लागि नगर उपप्रमुख भरत गोपालीले पेश गरेको प्रस्तावमा छलफलसहित सर्वसम्मत पारित भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा १ बमोजिम आयोजित सभाले गत ११ र १२ मा परेको अविर वर्षाका कारण आएको बाढीले पु¥याएको क्षतिको पुर्ननिर्माणमा संशोधित बजेट केन्द्रित रहेको प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए ।
सभाले नगर प्रमुख विष्णु बहादुर विष्टले प्रस्तुत गरेको चालु आर्थिक वर्षको २३ पुससम्मको प्रगती समीक्षा सर्वसम्मत पास गरेको छ । नगर कार्यपालिका सदस्य तथा प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले पेश गरेको कार्यपालिका, विभिन्न विषयगत समिति, शाखाहरु, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयहरु अनुमोदनको प्रस्ताव पारित भएको छ । लेखा समिति संयोजक बम बहादुर सिन्तानले आर्थिक वर्ष २०७८/०७९ नियमित गर्नुपर्ने बेरुजू माथिको प्रस्ताव पनि छलफलसहित सर्वसम्मत पास भएको छ ।
सभामा छलफलका क्रममा नगरसभा सदस्य युवराज विष्ट, कृष्ण कुमार कार्की, सुन्दरराज केसीलगायतले बोलेका थिए । सभा सदस्यहरुले राखेको जिज्ञासामा थाहानगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तान, आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझी तथा छलफलमा उठेका सवालहरुमा समग्र जवाफ नगर प्रमुख विष्णु बहादुर विष्टले दिएका थिए ।
सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, कार्यपालिका सदस्यहरु, विभिन्न विषयगत समितिका संयोजकहरु, नगरसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कुल २३.७२ प्रतिशत वित्तीय प्रगती हासिल गरेको थाहा नगरपालिकाको चालुतर्फ ३३.४६ र पुँजीगततर्फ ११.२४ प्रतिशत वित्तीय प्रगती हासिल गरेको जनाइएको छ ।
नगरपालिकाको आर्थिक विकासतर्फ १९.६९ प्रतिशत, सामाजिक विकासतर्फ ३३.०६, पूर्वाधार विकासतर्फ १०.५८, सुशासन तथा अन्तरसम्बन्धीततर्फ ८.०७ र कार्यालय सञ्चालन तथा प्रशासनिक विषय क्षेत्रर्फ २९ प्रतिशत वित्तीय प्रगती भएको नगर प्रमुख विष्टको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले चालु आर्थिक वर्षको हालसम्ममा १४.७२ प्रतिशत आन्तरिक राजश्व संकलन गर्न सफल भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्