बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधा सम्पन्न चारतले प्रशासनिक भवन निर्माण गरी सेवा सुरु गरिएको हो ।

गाउँपालिका र संघीय सरकारको रु. छ करोड १० लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको पालिका कार्यालयले जनाएको छ । पालिकाको ५५ प्रतिशत र संघयि सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।

संघयि सरकारले ६० र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको गाउँपालिकाका प्रमुख शालिकराज बञ्जराले जानकारी दिए । उनका अनुसार संघीय सरकारले भने जति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माण केही समय ढिलाइ भएको थियो । “निर्माण सुरु गरिएको भवन अलपत्र हुने अवस्था आएपछि गाउँपालिकाबाट १५ प्रतिशत लगानी थप गरेर काम सम्पन्न गर्‍यौँ”, उनले भने ।

भवनको भुइँतला र पहिलो तलामा छ–छ कोठा, दोस्रो तलामा सात कोठा र तेस्रो तलामा सभाहलसहित तीन कोठा रहेका गाउँपालिकाका इञ्जिनियर हिमाल कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आह्वान भएर विसं २०७८ कात्तिक ७ गते गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।

नवनिर्मित भवनको औपचारिक रूपमा आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गरे । कार्यक्रममा विभिन्न जातजातिको संस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य पालिकाले पनि प्रशासनिक भवन निर्माणलाई तीव्रता दिएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन सम्पन्न भइसेको छ भने रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले यसअघि प्रशासनिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन् ।

पालिका प्रेस
थप जानकारी