
मकवानपुरको कैलाश गाउँपालिकाको १५ माघमा भएको १५औं गाउँसभाले वार्षिक बजेट बढाएको छ । सभाले २ करोड ३० लाख २४ हजार रुपैयाँ थप आयसहित बजेट संशोधन गरेको हो । अब कैलाश गाउँपालिकाको वार्षिक बजेट २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यसअघि पालिकाको वार्षिक बजेट २७ करोड ३७ लाख रुपियाँ रहेको थियो ।
गाउँपालिकाको सभाले संशोधन गरेर थप गरेको बजेट आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान छ । गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरिएको छ । गाउँसभाबाट चालुतर्फको ८ वटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट थप गरिएको छ ।
त्यसैगरी पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन् । पुँजीगततर्फ ३५ करोड २० लाख ५ हजार रुपैयाँ बजेट थप गरिएको छ । गाउँसभाबाट चालुतर्फ २५ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तरण गरिएको छ ।
गाउँसभाबाट खानेपानी सरसफाई ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ । ३ वटा ऐन संशोधन गरिएकोमा २७ वटा कार्यविधि संशोधन गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा गाउँसभा भएको हो ।
प्रतिक्रिया दिनुहोस्