मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिका बालमैत्री घोषणा भएको प्रथम वार्षिकोत्सव मनाएको छ । २९ माघमा बाल सञ्जाललाई खेलसामग्री वितरण, वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्नुका साथै बालअधिकार संरक्षणमा क्रियाशील व्यक्तिलाई सम्मान गरिएको छ ।

गत वर्ष माघ २९ गते बकैया गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गरिएको थियो । वार्षिकोत्सवको अवसरमा बकैया गाउँपालिकाले वडा बाल सञ्जाललाई ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरेको छ । वार्षिकोत्सवकै अवसरमा ‘सबै पक्षको सरोकार, बालमैत्री व्यवहार हाम्रो अधिकार’ विषयक् वक्तृत्वकला प्रतियोगितामा कालीदेवी माविका सिमोन मोक्तान प्रथम, प्रभात माविकी डोल्मा पाख्रिन द्वितीय, जनजागृति माविकी भावना दोङ तृतीय र जनक माविकी संगीता गुरुङ सान्त्वना भए ।

गाउँपालिकाले बालअधिकारकर्मी सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली र मामाघर नेपालका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुली र स्थानीय बालअधिकारकर्मी भक्त भोलनलाई सम्मान गरेको छ । सिमोन भोलनको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीको पनि आतिथ्य रहेको थियो ।

पालिका प्रेस
थप जानकारी