आगामी आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ ।

आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहाले आयोगको मुल्याङ्कनमा ७१.३ अंक प्राप्त गरेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिए । आयोगले तोकेको सूचकमा पालिकाले सक्दो राम्रो काम गरेको स्थानीय तहको कार्य सम्पादन प्रगती अनलाइन रिपोटिङ फोकल पर्सन समेत रहेका भुजेलको प्रतिक्रिया छ । आयोगले ३० माघमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

पालिकाको कार्य सम्पदन मूल्याङ्कनमा प्रभावकारी रुपमा जिम्मेवार बहन गर्ने सबै जनप्रतिनीधि र कर्मचालाई थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले धन्यवाद दिएका छन् । विष्टले सबैको सहयोगबाटै नगरको कार्यसम्पादन र सूशासनको सूचक उचो हुने बताए ।

मकवानपुरको पालिका अनुसारको प्राप्ताङ्क तालिका ।

आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क बकैया गाउँपालिकाको छ । बकैयाले ४५.९ अंक पाएको छ । त्यस्तै जिल्लामै मनहरी गाउँपालिकाले दोस्रो स्थान लिएको छ । मनहरीले ६७.३ अंक पाएको छ । मकवानपुरगढी गाउँपालिकाले ६७, कैलाशले ६६.३, राक्सिराङले ६३.९, हेटौंडाले ६२.५, बागमती गाउँपालिकाले ६०, इन्द्रसरोवरले ५७.२ र भीमफेदी गाउँपालिकाले ५०.७ अंक पाएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ । आयोगको मूल्यांकन रिर्पोट अनुसार अधिकांश स्थानीय सरकारबाट तथ्यांक उपलब्ध हुनै मुस्किल देखिएको छ । जसले गर्दा ती तहहरुको कार्य सम्पादन मूल्यांकनमै असर परेको छ । आयोगले प्रदेश सरकारको कार्य सम्पादनका लागि कुल ११ वटा सूचकमा मूल्यांकन गरेको छ ।

स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विना शर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेबारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । यस्तो सिफारिस गर्दा आयोगले सुत्र बनाउँछ । जसमध्ये एक मापक कार्य सम्पादन मूल्यांकन हो ।

  • देशभरकै पालिकाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पालिका प्रेस
थप जानकारी