बागमती प्रदेशको राजधानी हेटौंडामा २६ मंसिरबाट अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरकृया कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश सरकारको आयोजनामा पहिलो पटक प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणादायी कार्य र समस्या तथा चुनौतीहरुका बारेमा विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उदघाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री पाण्डेले विभिन्न प्रदेश सरकारका अन्तर सम्बन्धलाई गाढा राख्न एक आपसमा सहकार्य, अन्तर सम्वाद र कार्यशैलीका साथै समस्था चुनौतीहरुको विषयमा छलफल गरी बैठक पश्चात एउटा घोषणा पत्र जारी गर्दै संघियतालाई कार्यान्वय गर्न थप सहजता मिल्ने बताए । उनले अन्तर प्रदेशको बैठक समय–समयमा बसे देशको आर्थिक पक्ष सुधारका साथै सामाजिक, औद्योगिक पक्ष र कर्मचारीका काम गर्ने शैलीमा पनि परिवर्तन हुने बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले प्रशासकहरु विकासका संवाहक भएको बताए । उनले देशमा सुशासन कायम गर्न कर्मचारीहरुलाई प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न साथै काम गर्ने शैली, विचार र प्रविधिमैत्री भई गम्भिर रुपमा काम सम्पादन गर्न आग्रह गरे ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाका सचिव यमलाल भूसालले तीन दिन हुने अन्तर प्रदेश बैठकमा प्रदेशको सुशासन प्रणाली, प्रदेश अन्तरगतका सेवा प्रवाह, विपद् व्यवस्थापन, कर्मचारी समायोजन, शासकीय प्रवद्र्धन, स्थानीय तहसँगको सम्बन्ध लगायतका विषयमा छलफल गरिने बताए। उनले केन्द्रीय सरकारका मुख्य सचिवसँगको अन्तरसम्वाद, अनुभव साटासाट गरी एक्येवद्धता जारी गरी सातै प्रदेशलाई आर्थिक, सामाजिक, सुशासन क्षेत्रमा साझा एजेण्डा बनाई काम गरिने बताए ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागमती आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल, सातै प्रदेशका प्रमुख सचिवहरुको सहभागिता रहेको छ ।