
दोस्रो निर्माण तथा व्यापार महोत्सवमा भएको हेटौंडा आइडल प्रतियोगिताको उपाधि दीपा स्याङ्तानले जितेकी छिन् । दीपाले उपाधिसहित नगद ५१ हजार १५१ रुपैयाँ जितेकी हुन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा हेटौंडा आइडलको आयोजना भएको थियो । सहभागी ३५ जनामध्ये प्रि–अडिसनबाट १६ जना छनौट भएका थिए । दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा स्याङ्तानले आइडलको उपाधि जितेकी हुन् । आइडलमा सुशान शाही ठकुरी दोस्रो, दिलिप लामा तेस्रो, प्रकाश वाइबा चौथो र शुक्र महर्जनले पाँचौ स्थान हाँसिल गरे ।
दोस्रो भएका ठकुरीले २५ हजार १५१, तेस्रो भएका लामाले १५ हजार १५१ तथा क्रमशः चौथो र पाँचौ भएका महर्जनले ५ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । आइडलमा मकवानपुरे गायक, गायिका तथा संगीतकारहरु कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी लुइँटेल र ईश्वर खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
आइतबारबाट निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव समापन भएको छ । हेटौंडाको टीसीएन चौरमा आयोजित महोत्सवको आइतबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामा भएको महोत्सवको समापनमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्