मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठ क्षेत्रमा होमस्टे सेवा सञ्चालन गरिने भएको छ । ऐतिहासिक तथा पर्यटकीय सम्भावनाले भरिएको यस क्षेत्रलाई व्यवस्थित ढंगले पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित होमस्टे सेवा सुरु गर्न लागिएको हो।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार, उक्त क्षेत्रमा जीपलाइन सेवा सञ्चालनको अन्तिम चरणमा रहेको छ । यस्तै, भौगोलिक विकटता हुँदाहुँदै पनि बैकुण्ठलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य लिइएको छ। उनले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी खाना र आवास सेवा प्रदान गर्न होमस्टे सुरु गरिन लागेको जानकारी दिए।
होमस्टे सञ्चालनको तयारीस्वरूप स्थानीयबासीले स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र गोरखाको वारपाक लगायतका चर्चित होमस्टे क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । त्यही क्रममा १७ जना स्थानीयलाई तीन दिने तालिम पनि प्रदान गरिएको छ। तालिममा पाहुनाको स्वागत–सत्कार, घरको सटावट, ऐन–कानून लगायतका विषयमा जानकारी दिइएको थियो। तालिम चितवनका प्रशिक्षक टिकाराम पौडेलले वडा कार्यालय छ्याङदुङमा सञ्चालन गरेका थिए। गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालका अनुसार, तालिमपछि सहभागीहरुलाई विभिन्न घरहरूको फिल्ड भिजिट गराइएको थियो।
कार्यक्रमका लागि गाउँपालिकाबाट तीन लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो। अवलोकन र तालिममा वडा अध्यक्ष राजेन्द्र घिसिङ, वडा सचिव नितेशकुमार यादव लगायतको टोली संलग्न थियो। वडाध्यक्ष घिसिङले भने, “हामीले स्थलगत अनुभव प्राप्त गर्यौं, अब आफ्नै स्रोतसाधन प्रयोग गरेर होमस्टे सञ्चालन गर्ने तयारीमा छौं।” बैकुण्ठ क्षेत्र धादिङ, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने स्थान हो, जसले गर्दा विभिन्न स्थानबाट पर्यटक आकर्षण गर्ने सम्भावना उच्च रहेको छ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्