
मकवानपुरको सिमभन्ज्याङमा दुई दशकभन्दा अघि फुरेको ‘मोहिनी कुञ्ज’ जैविक विविधता पार्कको अवधारणाले आकार लिन थालेको छ । जैविक विविधता संरक्षणसहित पर्यटकहरुलाई आकर्षित गर्ने संरचनाहरु निर्माण गर्ने योजना रहेकोमा हालसम्म एउटा पर्वतीय ताल निर्माण भैसकेको छ भने अरु दुई वटा निर्माणकै चरणमा रहेको छ । यो ताल थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको करुणभूमि सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा पर्दछ ।
समुन्द्री सतहबाट २४८८ मिटरको उचाईमा रहेको सिमभन्ज्याङमा एउटा ताल निर्माण सम्पन्न भएसंगै पर्यटकलाई आकर्षित गर्नका लागि बोट अर्थात डुङ्गा समेत सञ्चालनमा ल्याइएको छ । सिमभनज्याङको पर्वतीय तालमा १९ वैशाखमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बोटिङ शुभारम्भ गरेका हुन् । सो स्थानमा चालु आर्थिक वर्ष २०८१/०८२ मै सम्पन्न गर्ने गरी अरु दुई वटा तालको समेत निर्माण कार्य भइरहेको करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए । बोटिङ गर्ने ताल सिमभन्ज्याङ बजार नजिकै छ ।
पर्वतीय तालमा डुङ्गा सञ्चालनमा ल्याइएसँगै डुङ्गा सयरको मज्जा लिन पाइने भएको हो । सो अवसरमा नगरप्रमुख विष्टले बोटिङ सञ्चालनले पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरी थपिदैछ, अब डुङ्गा पनि थपेर पर्यटकलाई आकर्षित गर्ने योजनामा छौ’– नगर प्रमुख विष्टले भने । थाहा नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा अहिले तालमा एउटा डुङ्गा सञ्चालनमा ल्याइएको छ । ‘पर्यटकलाई आकर्षण गर्ने र अध्ययन अनुसन्धानका लागि यहाँको जैविक विविधताको प्रचार समेत गर्ने अवधारणा करुणाभूमि सामुदायिक वन उपभोक्ता समुहको हो’–अध्यक्ष लामाले भने ।
सिमभञ्ज्याङमा हेटौँडा, विरगञ्ज, चितवन, काठमाडौँलगायतका स्थानबाट गर्मी छल्नसमेत उपयुक्त हुने र पर्यटकको बसाईँ लम्ब्याउने उद्देश्य राखेर तालमा डुङ्गा सञ्चालनमा ल्याइएको अध्यक्ष लामाले बताए । हेटौँडा र तराई मधेशका आन्तरिक पर्यटकका लागि गर्मीयाममा उपयुक्त स्थल हुनेछ उनले भने, ‘हेटौँडालगायत तराईमा गर्मीले खपी नसक्नु छ, हामी भने यहाँ जाडोले कामिरहेका छौँ ।’
मोहिनी कुञ्ज जैविक विविधता पार्कको तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले शिलान्यास गरेका थिए । वि.सं. २०६८ सालमा डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विष्ट पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए । त्यस समयमा केन्द्र सरकारको लगानीमा सिमन्ट र रड प्रयोग नगरी वातावरणमैत्री पोखरी निर्माण गर्ने ‘कन्सेप्ट’ भएपनि त्यो संभवन नभएको लामाले बताए । अहिले बागमती प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ताल निर्माण गरिरहेको छ । ताल निर्माण पश्चात् जैविक विविधता संरक्षण, पर्यटकीय आकर्षणका साथै तल्ला बस्तीहरुका लागि ‘पुर्नभरण पोखरी’को रुपमा काम गर्ने डिभिजन कार्यलय हेटौंडाको भनाइ छ । यो बहुआयामिक ताल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्