मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७५ दशमलब ३५ प्रतिशत खर्च गरेको छ । बकैयाले चालु आर्थिक वर्षका लागि कुल ९३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेकामा तेस्रो त्रैमासिक अवधिमा ४८ करोड ५० लाख ८ हजार रुपैयाँ खर्च गरेको हो । बकैयाले कुल खर्चमध्ये पुँजीगत शीर्षकमा २१ करोड ७२ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४ दशमलब ८२ प्रतिशत खर्च गरेको जनाएको छ ।

यसैगरी चालु शीर्षकतर्फ २६ करोड ७७ लाख २४ हजार रुपैयाँ अर्थात् ५५ दशमलब १८ प्रतिशत खर्च गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार सार्वजनिक वित्तीय पारदर्शिता कायम राख्ने उद्देश्यले वार्षिक खर्च विवरण सार्वजनिक गरिएको हो । आमनागरिकलाई गाउँपालिकाको आयव्ययसम्बन्धी अवस्था बुझ्न सक्ने अवसर प्रदान गर्न खर्च विवरण सार्वजनिक गरिएको उनले बताए ।

बकैयाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व बढाउनेतर्फ केन्द्रित भएर काम गरिरहेको उनको भनाइ छ । विकास योजनालाई कार्यान्वयन गर्दा बकैयाले स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकता दिएको उनले बताए । बकैयाले आगामी आर्थिक वर्षका लागि भने ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

त्यस्तै राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७९ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको छ । २५ असारसम्म ४७ करोड ५० लाख ३५ हजार रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाले जानकार दिएको छ ।

गाउँपालिकाले चालु वर्षको लागि कुल ५९ करोड ५७ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । राक्सिराङले विनियोजन गरेको चालु खर्चतर्फ ८१ दशमलव ०९ र पुँजीगततर्फ ७७ दशमलव ५२ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले जानकारी दिए । चालुतर्फ ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३० करोड ११ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ २२ करोड ४२ लाख ७० हजार छुट्याइएकोमा १७ करोड ३८ लाख ४५ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

पालिका प्रेस
थप जानकारी