काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको हो। अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरालाई जाहेरी बुझाएको जानकारी दिएका छन् ।
जाहेरीमा बालेन साह र सुदन गुरुङले गत २३ र २४ भदौमा काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा सहभागी विद्यार्थी तथा युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने र मानवीय क्षति हुने गरी हत्या गराएको आरोप लगाइएको छ । संयोजक पौडेलका अनुसार जाहेरीमा मुलुकी अपराध संहिता, ०७४ का दफा १७७, १७८, २४४ र २८५ बमोजिम ‘अपराधिक उपद्रव’को अभियोग लगाउन माग गरिएको छ। तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त जाहेरी दर्ता गरेको छैन ।
एसपी बोहराले घटनाको कार्यक्षेत्र मकवानपुर नभएको कारण जाहेरी दर्ता गर्न नमिल्ने बताए । ‘काठमाडौँमा भएको घटनाको विषय लिएर उजुरी दिन आउनु भएकाले मकवानपुरबाट मुद्दा दर्ता गर्न मिल्दैन,’ उनले भने । संयोजक पौडेलले भने सरकारी वकिल कार्यालयसँग कानुनी परामर्श लिएपछि आगामी कदम तय गर्ने बताए । उनका अनुसार एसपी बोहराले भोलि बिहान ११ बजे छलफलका लागि बोलाएका छन् ।
यसअघि मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले काठमाडौंमा पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पनि सोही प्रकृतिको जाहेरी दर्ता गरिएको थियो ।











































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्