भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको शववाहन पुनःतयार भएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले सामाजिक सञ्जालमार्फत शववाहन सञ्चालनका लागि तयार भएको जानकारी दिँदै घटनाप्रति गहिरो पीडा व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘उपमहानगरपालिकाको शववाहन खरानी भयो भन्ने सुनेपछि मन थाम्न सकिन, निकै रोएँ । आफ्नै घर जल्दा पनि यति पीडा भएको थिएन ।’
आन्दोलनका क्रममा उपमहानगरको कार्यालय र उनका अग्रज, समकालीन तथा अनुज नेताहरुको घरसँगै प्रमुख लामाको घर पनि जलाइएको थियो । तर, शववाहन जलेको खबरले उनलाई विशेष गरी गहिरो चोट पुगेको उनले अभिव्यक्ति दिएकी छन् । उनले भनेकी छन्, ‘शववाहन व्यवस्थापनको जिम्मेवारी मैले आफैं लिएकी थिएँ ताकि जीवनका सबैभन्दा कठिन घडीमा नगरवासीले सास्ती भोग्न नपरोस् । शववाहन सहजरुपमा सम्बन्धित परिवारसम्म पुग्न सकोस् भन्ने उद्देश्यले व्यवस्था मिलाइएको थियो ।’
सरकारी खरिद प्रक्रियाका कारण तत्काल नयाँ शववाहन ल्याउन सहज नभएपनि अहिले शववाहन सञ्चालनका लागि तयार भएको र आवश्यक परेमा नगरवासीले उपमहानगरपालिका वा जनप्रतिनिधिलाई सम्पर्क गर्न सक्ने उनले जनाइन् । उनले थपेकी छन्, ‘शववाहन नचाहिने मानिस धर्तीमा को जन्मिएको होला र ? सबै जलाए पनि शववाहन जोगाएको भए मानवीय चेतनाको एउटा उत्कृष्ट नमूना बाँकी रहने थियो, होला ।’ भदौको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी हुँदा हेटौंडा उपमहानगरको कार्यालय क्षति पुगेको थियो ।











































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्