दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आइतबार आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–०८२’ स्थापना गरेका हुन् ।

नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्वर्गीय आमा पदमकुमारीको नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिएका छन् । नगरप्रमुख भट्टराईका स्वर्गीय आमा पदमकुमारीको गत वर्ष (१६ कार्तिक ०८१) ८८ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केही सहयोग पुर्‍याउने उद्देश्यसहित परिवारको तर्फबाट अक्षयकोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताए । अक्षयकोष स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त विद्यालयलाई स्थापना कालदेखि नै निरन्तर आर्थिक तथा भौतिक सहयोग गर्दै आएको स्मरण गराए । विद्यालयलाई आवश्यक पर्ने जग्गाको केही भाग न्यून मूल्यमा र केही पूर्ण निःशुल्क उपलब्ध गराएर आफ्नो परिवारले बिगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको नगरप्रमुख भट्टराईले जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरप्रमुख भट्टराईको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे। अक्षयकोषमा रहेको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राई, प्रधानाध्यापक पेशल आचार्य तथा अभिभावक संघका अध्यक्ष जोशीचन्द्र राईलाई चेकमार्फत हस्तान्तरण गरिएको छ।

नगरप्रमुख भट्टराई परिवारले उपलब्ध गराएको रकम केही दिनपछि नगरपालिकाको कार्यविधि तथा बैंकको नियमअनुसार सिटिजन बैंक दिक्तेल शाखामा खाता खोलेर जम्मा गरिने जनाइएको छ।

पालिका प्रेस
थप जानकारी