मकवानपुरमा १४ हजार ६०३ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन् । बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौंडाका अनुसार जिल्लामा बायोमेट्रिक विधिबाट छ हजार ९ सय ७० र राष्ट्रिय परिचयपत्रका आधारमा सात हजार ६ सय ३३ गरी १४ हजार ६०३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए ।
यसअघि जिल्लाको मतदाता संख्या तीन लाख दुई हजार २ सय ४३ थियो । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाइ लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो । नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम मतदाता नामावलीमा दर्ता गराउनसक्ने व्यवस्था छ । उमेर पुगेपनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेनजी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो । थपिएका नयाँ मतदातामा अधिकांश युवापुस्ताका हुन् ।
यस्तै मङ्सिर महिनामा थप गरिएको पाँच दिनको अवधिमा निर्वाचन कार्यालयमा उपस्थित भएर वायोमेट्रिकमार्फत महिला ३४८ सहित ७५७ जनाले मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएको तथ्यांक छ । मकवानपुरमा १ सय ६७ मतदानस्थल रहेका छन् । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा गत असोज मसान्तमा सार्वजनिक मतदाता नामावली अनुसार तीन लाख दुई हजार २ सय ४३ मतदाता थिए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्