अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाविस सचिव, विद्युत प्राधिकरणको लेखाका कर्मचारी र नाम झुक्याएर परीक्षा दिई पास गरेका शिक्षकहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

महोत्तरीको तत्कालिन नमुना गाविस गौशालाका सचिव नगेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गरी १२ लाख ८६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीमाथि आर्थिक वर्ष २०६७/६८ को सामाजिक सुरक्षा भत्ताको नक्कली भरपाई बनाई रकम दुरुपयोग गरेको आरोप छ । अख्तियारले विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ता विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उनीमाथि ९ लाख ३१ हजार रुपैंया दुरुपयोग गरेको आरोप छ ।

झुटा विवरण उल्लेख गरी शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेको आरोपमा अख्तियारले मनकला चौलागाई र मनिलाल आचार्य विरुद्ध पनि मुद्दा दायर गरेको हो ।

उनीहरुले बर्दियाबाट आर्थिक वर्ष २०७४/७५ मा परीक्षा दिएका थिए । अख्तियारले उनीहरुमाथि त्यतिबेलादेखि अहिलेसम्म लिएको तलबको एकमुष्ट हिसाव गरी ६ लाख ७४ हजार रुपैयाँ विगो मागदावी गरेको छ ।