थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा भएको छ । १९ पुसमा भएको साधारणसभा संस्थाका पूर्व अध्यक्ष विनोदकुमार लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
साधारणसभामा अध्यक्ष शिवकुमार खत्रीले कृषकहरूबीच सामूहिक भावना र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखिएको बताए । उपलब्ध स्रोत–साधन र समयलाई अझ उत्पादनशील कार्यमा लगाइने अध्यक्ष खत्रीको प्रतिवेदनमा उल्लेख छ । कृषकको सीप तथा क्षमता अभिवृद्धि, बचत गर्ने बानीको विकास, आवश्यक कृषि प्राविधिक सेवा, मल, बिउबिजन तथा उन्नत जातका पशु सुपथ मूल्यमा उपलब्ध गराउँदै बजार व्यवस्थापनलाई प्रभावकारी रूपमा समन्वय गरिने वार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् । बचत संकलन र कर्जा प्रवाहलाई सन्तुलित रूपमा अघि बढाउँदै आन्तरिक नियन्त्रण प्रणाली थप मजबुत बनाइएको अध्यक्षको प्रतिवेदनमा लेखिएको छ ।

आगामी आर्थिक वर्षमा सदस्य–केन्द्रित सेवा विस्तार, प्रविधिमैत्री प्रणालीको विकास, कर्जा जोखिम व्यवस्थापन मजबुत बनाउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत पालुङ क्याम्पसलाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाभर सदस्य विस्तार योजना अघि बढाइने जानकारी दिइएको थियो ।
साधारणसभामा सचिव सिताराम रुम्बाले सचिवको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक केदार केसीले लेखा प्रतिवेदन सभामा सुनाएका थिए । कोषाध्यक्ष दानु गोपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थामा हाल ७ सय २८ जना सदस्य, ८२ लाख रुपैयाँ सेयर पूँजी, ३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी, २ करोड १७ लाख रुपैयाँ बचत संकलन भई कुल कारोबार ५ करोड रुपैयाँ पुगेको छ । अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षतामा भएको सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाको अवसरमा बचततर्फ थाहा–१ का माधवप्रसाद बिडारी, उत्तमप्रसाद पौडेल र थाहा–४ की अञ्जली लो, कर्जातर्फ थाहा–३ का मनश्याम बस्नेत, जितेन्द्रकुमार, शिखर सप्लायर्स थाहा–३ का सञ्चालक विश्वनाथ रायमाझी तथा ज्येष्ठ सदस्य सम्मानतर्फ थाहा–४ की ईश्वरी खत्री गोतामे, थाहा–५ का मानसिंह भोम्जन र थाहा–४ का सप्तऋषि थिङ गोपालीलाई सम्मान गरिएको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्