बडिगाड–५ का २७ वर्षीय यामबहादुर थापाले १५ वर्षकी बालिका विवाह गरेका छन् । पत्नी हुँदाहुँदै ती युवाले गत साता बालविवाह गरेका हुन् । पत्नी विदेशमा रहेको मौकामा उनले दोस्रो विवाह गरेका हुन् ।

वैदेशिक रोजगारीमा रहेकी पत्नीका दाजुभाइले खोजी गर्दा बालविवाह गरेको भेटेपछि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले भने दुई दिन हिरासतमा राखेर थापालाई छाडेको छ । ‘बहुविवाह गर्नेलाई थुन्नुपर्नेमा उल्टै छाडिएको छ, यो गैरकानुनी हो’ मानव अधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जीसीले भनिन्, ‘बहुविवाह कानुनी विपरित हो, केही नहुनु दुर्भाग्य हो ।’ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले भने ती युवा र बालिका दुवैलाई घरपरिवारको जिम्मा लगाएको दाबी गरे । ‘बालिका कम उमेरको भएकाले अभिभावकको जिम्मा लगायौं,’ पल्लीमगरले भने, ‘अदालत जान्छौं भनेकाले यहाँ राख्नु परेन ।’

बालिकाले विवाह गरेको स्विकार्दा पनि प्रहरीले प्रमाण खोजेर छाडेको भन्दै मानवअधिकार संगठनले भने केन्द्रीय कार्यालय र सामाजिक बिकास मन्त्रालय पोखरामा जानकारी पठाएको छ । बाल संरक्षणकर्मी बद्रीप्रसाद वाग्लेले यो विषय गम्भीर भए पनि व्यवस्थापन कठिन भएको बताए ।

पालिका प्रेस
थप जानकारी