दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुको आतङ्कबाट किसानलाई राहत दिलाउन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाको १५औँ नगरसभाबाट पारित बजेटमा प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने व्यवस्था गरिएको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको बजेटमा वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि उक्त रकम छुट्याइएको हो।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदरको समस्या समाधानका लागि सङ्घीय सरकार तथा छिमेकी स्थानीय तहसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन योजना अघि बढाइनेछ। नगरपालिकाले आगामी वर्ष ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमअन्तर्गत किसानको घरदैलोमै पुगेर प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने जनाइएको छ।

यस्तै, जिल्लाका अन्य स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन्। हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने केपिलासगढी गाउँपालिकाले ४७ करोड ५१ लाख पाँच हजार १७० रुपैयाँको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

खोटाङका बाँकी स्थानीय तहहरूले पनि असार १० गते आ–आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।

पालिका प्रेस
थप जानकारी