शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा छलफल गरेका हुन् ।

छलफलमा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधि क्षेत्रमा आवश्यक बजेट नभएको भन्दै शिक्षामा २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे ।  मन्त्री पौडेलले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिम व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात वटै प्रदेशमा नमुना आवासीय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्सांकन, अंग्रेजी, गणित र विज्ञानका लागि ३ हजार शिक्षकका लागि दरबन्दी सिर्जनालगायत कार्यक्रम मन्त्रालयले योजनामा राखेको बताए । ‘शिक्षाको बजेट धेरै तलबमा जान्छ । अहिले कोभिडको असर पनि विस्तारै कम हुँदै गएको छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षालाई जोड दिँदै मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउनुप¥यो ।’ उनले बालविकास शिक्षाका सहजकर्ताले तलब भत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकका लागि गोल्डेन ह्याडन्सेक कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको सुनाउँदै बजेटको आकार बढाउन आग्रह गरे ।

यस्तै, उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्यक्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजको स्तरोन्नति, प्राविधिक धार (९–१२) को शैक्षिक कार्यक्रम ७ सय ५३ स्थानीय तहमा पु¥याउने लक्ष्य रहेको मन्त्री पौडेलले जानकारी दिए ।

विज्ञान तथा प्रविधि क्षेत्रमा सबै प्रदेशमा नास्टको क्षेत्रीय कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारी भएको उनको भनाइ छ । शिक्षा मन्त्रालयले दिएको विषय सकारात्मक भएको बताउँदै योजना आयोगका उपाध्यक्ष पौडेलले गत आर्थिक वर्षमा भन्दा शिक्षामा बजेट थप गर्ने बताए । ‘शिक्षामा बजेट थप गर्ने विषयमा सहमत छु,’ उनले भने, ‘शिक्षामा बजेट थपिँदा सुदूरपश्चिम, कर्णालीका विद्यालयको गुणस्तर पनि वृद्धि हुनुप¥यो ।’ शिक्षामा संविधानले २० प्रतिशतको ग्यारेन्टी गरेको बताउँदै डा. पौडेलले यो वर्ष शिक्षामा बजेट थप्ने विषयमा आफू सकारात्मक रहेको जानकारी दिए । ‘प्रधानमन्त्रीसँग विद्यार्थीका लागि दिवा खाजासहितको कार्यक्रमलाई बजेट थप गर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘मन्त्रालयले पनि प्राथमिकता तोकेको ठाउँमा हामी सम्बोधन गर्छौं ।’

पालिका प्रेस
थप जानकारी