बन्गाडकुपिन्डे नगरपालिका–५ का वडाध्यक्ष कमल विक झन्डै एक वर्षदेखि र कार्यपालिका सदस्य चित्रबहादुर विक ६ महिनादेखि आफ्नो जिम्मेवारी छाडी बाहिर गएका छन् । वडाध्यक्ष विक सदस्य गोबबहादुर कामीलाई कार्यवाहकको अधिकार दिएर नेपालगन्ज बस्दै आएका छन् भने कार्यपालिका सदस्य विक रोजगारीका लागि भारतको मुम्बर्ई गएका हुन् ।

तर अहिले दुवै जनाले पाउने पारिश्रमिक र अन्य सुविधा भने नगरपालिकाले उनीहरूको खातामा पठाइरहेको छ । कानुनमा कुनै किसिमको कारबाही गर्ने व्यवस्था नभएको र हाजिरीसमेत गर्नु नपर्ने हुँदा आफ्नो जिम्मेवारीबाट टाढा रहेकालाई सेवा सुविधा उपलब्ध गराइरहेको पालिकाले जनाएको छ । वडाध्यक्ष विकले अर्कालाई जिम्मेवारी सुम्पेर नेपालगन्जमा बसी ठेक्कापट्टा गर्दै आएका छन् ।

उनी एक वर्षयता ११ पटक कार्यपालिकाको बैठकमा अनुपस्थित भएको नगरपालिकाले जनाएको छ । ‘पटकपटक सम्पर्क गर्दा पनि बैठकमा उपस्थित भएका छैनन्,’ पालिका प्रमुख गोविन्दकुमार पुनले भने, ‘हामीले कारवाही गर्न नमिल्ने भएकाले पनि समस्या छ ।’

वडाध्यक्ष विकको खातामा नगरपालिकाले मासिक २० हजार रुपैयाँ र कार्यपालिका सदस्य विकको खातामा १२ हजार रुपैयाँ पठाइरहेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतले नीति नै त्यस्तै भएकाले उनीहरूलाई सुविधाबाट वञ्चित गर्न नसकिएको बताए । ‘उनीहरूले कर्मचारी र शिक्षकजस्तो हाजिरी गर्नु पर्दैन,’ उनले भने, ‘अरु भत्ता रोकिए पनि तलब भने नियमित रुपमा खातामा पठाइरहेका छौं ।’ कार्यवाहक जिम्मेबारी पाएका कामीले भने जिम्मेवारीअनुसार सेवा सुविधा नपाएको गुनासो गरे । उनले यसलाई सरकारी बजेटको दुरुपयोगको रुपमा व्याख्या गरे ।

स्थानीयले भने जनप्रतिनिधिले जिम्मेवारीविहीन भएर मतको दुरुपयोग गरेको जनाएका छन् । बन्गाडकुपिन्डे–५ का केवल रोकाले जिम्मेवारीबाट पन्छिएर बाहिर गएकालाई सुविधा उपलब्ध गराउनु सरकारी बजेटको दुरुपयोग भएको बताए । स्थानीय सरकारको नीति तथा कानुन गतिलो नबन्दासम्म जनप्रतिनिधिको मनोमानी रहने उनको भनाइ छ । बन्गाडकुपिन्डेमा मात्र नभइ जिल्लाका अन्य पालिकामा पनि कार्यपालिका तथा वडा सदस्यको हकमा यस्तो समस्या रहेको स्थानीय हिक्मत बुढाथोकीले बताए ।

पालिका प्रेस
थप जानकारी