पर्वतको कुश्मा नगरपालिकाले ‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले विशेषगरी ज्येष्ठ नागरिकमा रहेको नसर्ने रोग पहिचान र निदानका लागि यस्तो अभियान थालेको हो ।

‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियानअन्तर्गत १४ वटै वडामा पुगेर रक्त परीक्षण गर्ने कार्यक्रम सुरु भएको छ । स्वास्थ्य शाखाले कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट कार्यक्रम सुरु गरी अभियान थालेको नगरपालिकाका स्वास्थ्य सह–संयोजक यामप्रसाद शर्माले बताए । कटुवाचौपारीमा आयोजित शिविरमा ३ सय जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोगजस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको स्वास्थ्य सह–संयोजक शर्माले जानकारी दिए ।

ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । रोगले थलिएपछि उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोग पहिचान र निदान हुने हुँदा नगरपालिकाले अभियान चलाएको गुरुङको भनाइ छ । नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

उपप्रमुख सीता काफ्ले लामिछानेले विशेषगरी जेष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले उनीहरूको जीवनरक्षाका लागि विशेष ख्याल गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताइन् । नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको उपप्रमुख लामिछानेले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी