गण्डकी प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरे ।

गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार रुपैयाँ सहुलियत पाउनेछन् । सरकारले उपलब्ध गराउने १ लाख रुपैयाँ खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने डा. गौतमले बताए । गण्डकी प्रदेशका महिलाले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरूले यो सुविधा लिन पाउने डा. गौतमले बताए ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले प्रदेश सरकारको चालू वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरेको जानकारी दिए । प्रदेश सरकारले यो कार्यक्रमका लागि ५० लाख रुपैयाँ रकम छुट्टाएको छ । चालू आर्थिक वर्षको बाँकी ४ महिनाको अवधिको प्रगति र अवस्था हेरेर यसलाई विस्तार गर्दै थप रोग र पुरुषका लागिसमेत उपचारमा सहयोग गर्ने योजना रहेको मन्त्रालयका सचिव तिवारीले बताए । उपचारमा आउँदा वडाको सिफारिस ल्याउनुपर्नेछ ।

पालिका प्रेस
थप जानकारी