रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सरसफाइ अभियानलाई नगरबासीको घर–टोलमा केन्द्रित गर्न थालिएको छ । प्रत्येक घर, व्यावसायिक प्रतिष्ठान, संघ–संस्था, निकायमा जथाभावी फोहोर नगर्ने प्रतिबद्धतासहितको स्टिकर टाँसेर नगरपालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाएको हो ।

नगरपालिकामा नियमित रूपमा टोल विकास संस्थामार्फत नियमित रूपमा समुदाय सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टाँस्ने काम अघि बढाइएको नगरपालिकाको वातावरण शाखाले बताएको छ । नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँगको समन्वयमा घर–घरमा सरसफाइ गर्ने प्रतिबद्धतासहितको स्टिकर टाँस्न सुरु गरेको छ ।

सार्वजनिक स्थल, बिजुलीका पोल, मुख्य चोकमा समेत सचेतना अभिवृद्धिका लागि स्टिर टाँसिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको हो । प्रतिबद्धता स्टिकर टाँसपछि जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र घरपरिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताए ।

उनका अनुसार नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाले यो अभियान हरेक नगरबासीको घरमा पु¥याउनेछन् । सोही अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको संयुक्त आयोजनामा बिहीबार वडा नम्बर १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्का लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

उक्त अवसरमा नगरप्रमुख वासुदेव घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीलाई स्टिकर हस्तान्तरण गरे । कार्यक्रममा नगरप्रमुख घिमिरेले पूर्णसरसफाइ उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले नगरबासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको बताउँदै सरसफाइ अभियन्ताप्रति आभार व्यक्त गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गुणानिधि पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेकाले त्यसपछि सबै नगरबासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने जानकारी दिए । कार्यक्रममा मुलुककै उत्कृष्ट खानेपानी आयोजनाको रूपमा शंकरनगर खानेपानी संस्थालाई विभागबाट प्राप्त सम्मान–पत्र अध्यक्ष झवीन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै, टोल विकास संस्था सञ्जाललाई प्रशंसा–पत्र वितरण गरियो ।

खानेपानी संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागत, सचिव कमला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद तिवारी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेललगायतले बोलेका थिए ।

यसअघि नगरपालिकाले करहिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँगको सहकार्यमा यस्तै प्रकारको कार्यक्रम गरी स्टिकर टाँस अभियान सुरु भइसकेको छ ।

पालिका प्रेस
थप जानकारी