दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ९ स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो । राप्तीले ७०.७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बाल चन्द्र गुरुङले जानकारी दिए ।

प्रतिवेदनमा बंगलाचुली गाउँपालिकाले ५४.३९, घोराही उपमहानगरपालिकाले ६०.८८, तुल्सीपुर उपमहानगरपालिकाले ६४.४१, शान्तिपुर गाउँपालिकाले ७०.३०, बबई गाउँपालिकाले ५८.९८, दगीशरण गाउँपालिकाले ५९.३२, गढवा गाउँपालिकाले ४७.९८ र राजपुर गाउँपालिका ४५.५१ अंक पाएका छन् ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५.५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९÷८० का लागि यसङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ ।

पालिका प्रेस
थप जानकारी