अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक बोगटीसहित खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । काठमाडौं महानगरपालिका-१२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं.३३१८५-०७७-७८-एनसीबीडब्ल्यू-केएमसीका लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा ५ जनाकै संलग्नमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरी भ्रष्टाचार गरेको देखिन आएकोले मुद्दा दायर गरिएको रिसालले जानकारी दिए ।