अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा स्थानीय तहको काम कारवाहीमाथि सघन अनुसन्धान शुरु गरेको छ ।

कतिपय गम्भीर प्रकृतिका उजुरीहरु परेको भन्दै अख्तियारले ती स्थानीय तहमा स्थलगत टोली नै खटाएको हो । अख्तियार स्रोतका अनुसार, भक्तपुरको चागुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नरसिंह गाउपालिका र कपिलबस्तुको बुद्धभूमि नगरपालिकामा टंगालस्थित केन्द्रीय कार्यालयबाट टोली नै खटिएको छ ।

‘स्थानीय तहका धेरै उजुरीहरु परेकाले कामकारवाहीको अनगुमनका क्रममा गएका हौं’ अख्तियार स्रोतले भन्यो, ‘त्यहाँबाट ५ लाखभन्दा बढीका खरिद र २० लाखभन्दा बढीका निर्माणमाथिको अनुसन्धान गर्ने प्रारम्भिरक योजना छ ।’

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले केही स्थानीय तहमा अनुसन्धानका क्रममा टोली खटिएको बताए । ‘उजुरीको छानविनका क्रममा हाम्रो टोली खटिएको हो’ उनले भने, ‘उजुरीसँग सम्बन्धित विषयहरुको अध्ययन गरी फर्किनेछ ।’ अख्तियारले उजुरीका आधारमा भन्दै तीन स्थानीय तहमाथि विस्तृत रुपमा अनुसन्धान थालेको हो ।