अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरको रूपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका सूचीकृत भएको छ । देशभरमै पहिलो पटक तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको नगरपालिकाले जनाएको हो ।
मंगलबार नगरपालिका परिसरमा आइएसओ सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् । नगरप्रमुख वासुदेव घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पूरा गर्ने लक्ष्यसहित अघि बढेर समयमै कार्य सम्पन्न गरी देशमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए ।
नगरप्रमुख घिमिरेले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगर बासीहरूले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताएका छन् । आइएसओ सर्टिफाइड नेपालका म्यानेजर सुदिप शर्माले गुणस्तर मापदण्ड पूरा गरी नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको बताए ।
उनले देशभरमा अन्य केही पालिकाले समेत प्रक्रिया अगाडि बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्डसहित ३६ सूचक पूरा गरी सो प्रमाणपत्र प्राप्त गरेको बताए ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्