पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो । स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिलाई स्थानीयले आफ्ना समस्या मात्रै देखाएनन्, समस्या समाधान गर्न रचनात्मक दबाब पनि दिए । जनप्रतिनिधि र नेताको टोलीलाई उकालोमा पानीको गाग्री नै बोकाइदिए ।

आफैंले उकालोमा डोकोमा पानीको गाग्री बोकेर स्थानीयको पीडा महसुस गरेका जनप्रतिनिधि र नेताहरुले गाउँमा जसरी पनि खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेर फर्किए । अहिले गाउँमा खुसीयाली छाएको छ । राक्सिराङ गाउँपालिकाले तत्कालै १६ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँमा खानेपानीको व्यवस्था गरिदियो । सोलार पम्पिङमार्फत बन्जीडाँडा खोलाबाट डाँडामा पानी तानेर स्थानीयलाई वितरण गरिएको छ । १५ घरधुरी रहेका महांकालमा ४ वटा धारामार्फत खानेपानी वितरण गरिएको छ ।

दुइवर्षअघि स्थानीयको समस्याको भारी बोकेर फर्किएका जनप्रतिनिधि र नेताहरु बुधबार पुनः महांकाल फर्किँदा स्थानीयबासी फूलमाला र अबिर बोकेर भव्य स्वागतमा उत्रिए । आफूहरुको वर्र्र्षौदेखिको समस्या समाधान भएकोमा उनीहरु अति हर्षित थिए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको टोली गाउँमा पुगेर स्थानीयसँग खुसी साटासाट गरे । स्थानीयको घरछेउमै ठडिएको धाराबाट पानी थापेर घरभित्रैसम्म पु¥याइदिए, पानी छ्यापाछ्याप गरेर खुसी बाँडे ।

स्थानीयबासीसमेत रहेका वडा सदस्य जयबहादुर तितुङले खानेपानीको समस्या समाधान भएसँगै स्थानीयको जीवनस्तर नै फेरिएको बताए । ‘हरेक दिन २ खेप पानी बोक्दासम्म आधा दिन भइसक्थ्यो । अरु काम गर्ने फुर्सदै हुँदैनथ्यो । अहिले घर नजिकै धारा झर्दा बारीमा तरकारी रोप्नेदेखि अरु काम गर्न पाएका छौं ।’ तितुङले भने । गाउँपालिकाले १६ लाख रुपैयाँ विनियोजन गरेकामा उपभोक्ताको समेत श्रमदानबाट खानेपानी आयोजनाको लागत करिब ३० लाख पुगेको उनले बताए ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले स्थानीयको समस्या समाधान गर्न आफूहरु सँधै तयार रहेको बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुले भनेर होइन गरेर देखाउने बताए । आफूहरु जनप्रतिनिधि भएर आएपछि गाउँका हरेक टोलमा महसुस हुने गरी विकास गरिएको उनले दावी गरे । १५ घरको लागि अहिले सामुहिक प्रयोगको लागि ४ वटा धारामार्फत पानी वितरण गरिएकोमा अब घरघरमै धारा जडान गर्नको लागि बजेटको व्यवस्था गरिने पनि उनले बताए ।

  • केशव समर्पणले प्रदेश सञ्चारमा लेख्नू भएको खबर साभार