मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्राप्त भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवार गाउँपालिकालाई अनुमति प्रदान गरेको हो । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं र प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेर गाउँपालिका घोषणा अनुमतिका लागि जिल्ला समन्वय समिति मकवानपुरलाई सिफारिस गरेका थिए । समितिले गाउँपालिका अनुमगन पश्चात अनुमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

गाउँपालिकाले मकवानपुरगढी–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको खेल मैदानमा १२ चैत शनिवार बालमैत्री स्थानीय तह घोषणा गर्दैछ । घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाका सिएफएलजी सहसंयोजक कविराज हुमागाईंले जानकारी दिए ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन, कार्यान्वयन तथा घोषणाको तयारी पुरा भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिइएको थियो । शनिवार गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

उनले घोषणा पछिको दिगोपनाको योजना तयार पार्दै प्रत्येक वडामा बजेट निकासा गरि सबै सुचकको दिगोपनको कार्यक्रमहरु गरिने बताए । गाउँपालिकामा यस अभियान सुरु हुनुभन्दा अघि वार्षिक ३५/३६ वटा वालविवाहको तथ्याङ रहेको छ तर बाक्लै बालविवाह भएको त्यो अवस्था र अहिलेको अवस्था फरक रहेको अध्यक्ष हुमागाईले बताए ।

शुन्य नभएता पनि घट्दोक्रममा रहेको भन्दै बालबालिका लक्षित नर्सरीदेखी कक्षा १२ सम्मका प्रत्येक विद्यार्थीलाई दविा खाजाको व्यवस्था गाउँपालिकाले गरेपछि बालबालिकाहरु विद्यालय जानेको संख्या बढ्दो रहेको उनले बताए । गाउँपालिकाले दलित तथा असाहय बालबालिकालाई निशुल्क पठनपाठनको समेत व्यवस्था गरेको छ । सबै क्षेत्रमा पूर्णता पाइएता पनि स्वास्थ्यको सुचकमा कम प्रतिशत रहेको अध्यक्ष हुमागाईले बताए ।

गाउँपालिकामा १८ वर्षमुनिका ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरि ८ हजार २९६ जना बालबालिका रहेको गाउँपालिकाको तथ्याङमा रहेको छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रियाका कागजात व्यवस्थापनका लागि फाइन सुची तयारी कार्यशाला सम्पन्न भई ३३ प्रकारका फाइल खडा गरिएको बालमैत्री स्थानीय शासन कार्यक्रम सहसंयोजक कविराज हुमागाईले बताए ।

राष्ट्रिय कलाकार निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ (तितुङ) लगायत विभिन्न कला, झाँकी सहित प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम हुने उनले बताए । कार्यक्रम १२ गते शनिबार दिउँसो १२ बजे वडा नम्बर ५ धादिङ खेलमैदानमा हुनेछ ।

पालिका प्रेस
थप जानकारी