फोटो सौजन्य: राजन बलामी चित्लाङ मकवानपुर

कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा पाइने अति महँगो गुच्ची च्याउ मकवानपुरको चित्लाङमा पनि भेटिएको छ । यसअघि २०७६ जेठमा यो च्याउ दामनमा भेटिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने तथ्याङ्क सार्वजनिक गरिरहेको बेला चित्लाङमा यो च्याउ फेला परेको हो । थाहा नगरपालिका वडा नम्बर ९ का राजन बलामीको खेतमा गुच्ची च्याउ फेला परेको बलामीले जानकारी दिए ।

चित्लाङको जंगलमा नभई खेतकै डिलमा गुच्ची च्याउ फेला परेको राजन बलामीले बताए । यस किसिमको च्याउन जंगलमा पनि पाइने बलामीले बताए । गुच्ची च्याउ लगायत उच्च पहाडि क्षेत्रमा पाइने धेरै जंगली खाद्यफल चित्लाङ क्षेत्रमा पाइन्छ । यो जातको च्याउ डेढ वर्ष अघि चित्लाङको सातधारा आसपासमा स्थानीय निर्मल बलामीले पनि फेला पारेका थिए । गुच्चीसहित मृगे च्याउ, कन्ने चाउ, गोठाले च्याउ, खरानी च्याउ, ऐँसेलु, काफल, गुुफ्ला, सिँगौटा, चुत्रो, कटुस लगायत जंगली खाद्यफल पाइने गरेको स्थानीयहरु बताउँछन् ।

फागुनदेखि उम्रने गुच्ची च्याउ वर्षासहित पर्ने चट्याङ र मेघ गर्जनको आवाजले मात्र उम्रने जनविश्वास छ । भीरपाखासहित समथर वनमा पाइने गुच्ची च्याउ चित्लाङ क्षेत्रमा फेला परेपछि मकवानपुरको अन्य पहाडी क्षेत्रमा पनि पाइने अनुमान गर्न थालिएको छ ।

मकवानपुरकै दामन क्षेत्रमा चैतदेखि जेठको आधाउधीसम्म जंगलमा गुच्ची च्याउ देखिने गरेको छ । यसलाई कतिपयले पोलेर खाने गरेका थिए भने कतिपयले विष लागेर मरिएला भन्ने डरले वास्ता गर्दैनथे । झट्ट हेर्दा च्याउजस्तै नदेखिने भएकाले धेरै जसो स्थानीयले भने स्थानीय रुपमा बाँको भनिने विषालु विरुवाको फूल सम्झने गरेका थिए ।
नास्टका वरिष्ठ वैज्ञानिक जयकान्त रावतका अनुसार विश्व बजारमा च्याउको कूल उत्पादन १५० टन भएकोमा नेपालले ५ देखि १० टन गुच्ची च्याउ निर्यात गर्दै आएको छ । गत वर्ष सुदुर पश्चिम र कर्णाली क्षेत्रमा गुच्ची च्याउ प्रति केजी २० हजारदेखि ३० हजार रुपैयासम्ममा विक्री भएको थियो ।

के हो गुच्ची च्याउ ?

च्याउलाई विश्वव्यापी रुपमा निकै रुचाइन्छ । नेपालको सन्दर्भमा थुप्रै किसानहरु च्याउ खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् । तर स्वादको कुरा गर्ने हो भने खेती गरि उब्जाइएको भन्दा जंगलमा सिजनमा मात्र पाइने च्याउ बढी स्वादिलो हुने गर्दछन् । जंगलका धेरैजसो च्याउ विषालु हुने गरेपनि खान मिल्ने च्याउ भने स्वादिष्ट हुनाका साथै शरीरका लागि पनि निकै लाभदायक हुने गर्दछन् ।

च्याउहरु मध्येमा गुच्ची च्याउ अर्थात् मोरल मसरुमलाई संसारकै महंगो च्याउमा गनिन्छ । ५०० ग्रामको नै १८ हजारसम्म पर्ने यस च्याउ महंगो हुनाका साथसाथै फाइदाहरु पनि प्रशस्त रहेका छन् । औषधीको राम्रो विकास नभएको समयमा हिमाली भेगका मानिसहरुले यस च्याउलाई औषधिको रुपमा सेवन गर्ने गरेको अध्ययनले देखाएको छ । एन्टिअक्सिडेन्ट, फाइबर, प्रोटिन लगायतले भरिपूर्ण यो च्याउ नियमितरुपमा सेवन गर्नाले मधुमेह, कलेजो, मटु, उच्च रक्तचाप लगायत थुप्रै रोगहरुबाट बच्न सकिन्छ ।
च्याउ पारखीहरुका लागि काठमाडौंको एकमात्र होटल साइनी नरचोक बुटिक होटलले ग्राहकहरुलाई गुच्ची च्याउको सुप पस्कने गरेको छ । नेपालकै पहिलो र एकमात्र युवा एक्जुकेटिभ सेफ हेभेन खनाल कार्यरत उक्त होटलको मेनुमा हेभेन आफैंले गुच्ची च्याउको सुप समावेश गराएका रहेछन् । साईनी होटलले आफ्ना ग्राहकहरुलाई डोल्पाबाट ल्याएर च्याउ पस्कने गरेको होटलका सेफ हेभेनले बताए । यस च्याउको सुप कसरी बनाईन्छ त ?

हेरौं केन्द्रबिन्दुले तयार पारेको यो भिडियोमा:

पालिका प्रेस
थप जानकारी