मकवानपुरको भिमफेदी गाउँपालिकाले श्री कृष्ण माध्यमिक विद्यालयलाई ‘स्कूल बस’ हस्तान्तरण गरेको छ । पालिकाको वडा नम्बर २ भैसेमा रहेको उक्त विद्यालयलाई पालिका कार्यालय भिमफेदीमा एक कार्यक्रमको आयोजना गरी ‘स्कूल बस’ हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले विद्यालयका प्रधानाध्यापक कृष्णलाल श्रेष्ठलाई बसको चाबी हस्तान्तरण गरेका हुन् ।

टाटा कम्पनीको उक्त बसको सिट क्षमता ४१ रहेको छ । यसअघि पनि एउटा ‘स्कूल बस’ संचालन गरिरहेको श्री कृष्ण माविलाई विद्यालय क्षेत्र विस्तार भएसंगै थप ‘स्कूल बस’ सहयोग गरिएको पालिकाले जनाएको छ ।

चार सय ५२ विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा २ सय भन्दा बढि विद्यार्थी यातायात सुविधा विना सहजै विद्यालयको पहुँचमा आउन नसक्ने अवस्थामा रहेको विद्यालयले जनाएको छ । बस हस्तान्तरण गर्दै ‘स्कूल बस’ को प्रयोगबाट बालबालिकाको शिक्षामा पहुँच बढेको पालिका अध्यक्ष हिदम लामाले प्रतिक्रिया दिए ।

पालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत २८ लाख बजेटबाट ‘स्कूल बस’ खरिद गरिएको हो ।

‘स्कूल बस’ हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन, योजना शाखा प्रमुख बद्री सापकोटा, २ नम्बर वडा अध्यक्ष काशीराम बज्यु, शिक्षा शाखा प्रमुख तथा अन्य कर्मचारी र जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी