शंकर श्रेष्ठ
धादिङ
– स्थानीय तहको चुनाव आउन मात्रै एक महिना बाँकी छ । सबैतिर चुनावी माहोल तातिएको छ । ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिहरु भने जनताको गुनासो सुन्नै व्यस्त छन् ।

‘यो चुनावमा उम्मेदवार बनेपनि नबनेपनि आफ्नो कार्यकालमा भएका कामहरु जनतासामु छर्लङ्ग बनाउनु सबैको कर्तव्य हो’ ज्यालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमस्लिनाले भने–‘स्थानीय सरकारहरु सार्वजनिक सुनुवाई गर्दैनन् र पारदर्शी छैनन् भन्ने टिप्पणीलाई चिर्न चुनावको मुखैमा पनि जनताको गुनासो सुन्न गाउँवस्ती पुगेका छौं ।’

स्थानीय सरकारले गरेका कामप्रति जनताका गुनासा सुन्न जनप्रतिनिधिहरु जनताकै सामुन्ने पुगेका छन् । कर्मचारीहरु पनि गुनासो सुन्न जनप्रतिनिधिहरुसँगै पुगेका छन् । स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेका बेला जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ गरेर जनताका समस्या सुन्ने र अलमलमा भएका विषयहरु प्रष्ट्याउने गरेको तिमल्सिनाले बताए ।

ज्वालामुखी गाउँपालिकाको सातै वटा वडामा छुट्टाछुट्टै सार्वजनिक सुनुवाई गरिसकेको छ । ‘सार्वजनिक सुनुवाईमा सेवाग्राहीले उठाएका विषयलाई सुनुवाई गर्ने, समस्या समाधान गर्ने काम भएको छ’, अध्यक्ष तिमल्सिनाले भने– ‘स्थानीय सरकारले गरेका काम कारवाहीको बारेमा हामी सेवाग्राहीका सल्लाह, सुझाव, गुनासा सुन्छौं र समस्या समाधान गर्दै जान्छौं ।’ चुनाव नजिकिसकेको बेला सार्वजनिक सुनुवाई गर्दा जनतालाई दिने जवाफले भोट विग्रने डर भन्दा पनि आफ्नो नेतृत्वमा जनप्रतिनिधि भएको बेला भएका कामको स्यावासी र गुनासो दुबै सुन्न पालिकाभित्रका सबै वडामा सार्वजनिक सुनुवाई गरिएको उनले बताए ।

सार्वजनिक सुनुवाइकै क्रममा गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडाले सार्वजनिक सुनुवाइ सेवाग्राहीलाई सँगै राखेर सेवाप्रदायक र सेवाग्राहीबीच गरिने संवाद, छलफल र अनुभव आदान प्रदान गर्ने प्रक्रिया भएकोले यसले सुशासनको सिंढिमा अर्को इट्टा थप्ने काम भएको बताइन् । सुशासन कायम गराउनकै लागि सुरुवाती वर्षदेखि नै सबै वटातहसम्म पुगेर बर्सेनि सार्वजनिक सुनुवाई गर्ने गरिएको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले सरोकारवाला नागरिक र सेवाप्रवाह गर्ने जिम्मेवार निकायको ओहदामा बसेका पदाधिकारीहरू बीच सार्वजनिक थलोमा बसेर समग्र सेवा, वस्तु र सुविधाबारे छलफल गर्ने प्रक्रिया नै सार्वजनिक सुनुवाई भएकोले गाउँपालिकाले हरेक वर्ष यस्ता कार्यक्रम गर्ने गरेको बताए । सार्वजनिक सुनुवाईमा नागरिक र जिम्मेवार निकायका पदाधिकारी बीच लिनुपर्ने र दिनुपर्ने सवालमा छलफल हुने, नागरिकको आकांक्षा धेरै हुने तर सेवाप्रदायकसँग स्रोत साधन सिमिति हुन्ने हुँदा सेवालिने र दिनेबीच सँधै द्वन्द्वजस्तो देखिने भएकोले सार्वजनिक सुनाइपछि ती समस्या न्यूनिकरण हुँदै गएको उनले अनुभव सुनाए ।

स्थानीय तहलाई पारदर्शिता र जवाफदेहिताका लागि शुसासन कार्यविधि बनाएर लागू गर्ने अधिकार भएकोले ज्वालामुखी गाउँपालिका त्यसैगरी अघि बढेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले दाबी गरे । ज्वालामुखी गाउँपालिकाले चैत्र २० गतेबाट सार्वजनिक सुनुवाई थालेको हो । विगत वर्षहरुमा पनि यसैगरि सबै वडामा सार्वजनिक सुनुवाई गरेको थियो ।

सार्वजनिक सुनुवाईमा सेवाग्राहरुले धेरैजसो सडक, खानेपानी, शिक्षा, कृषिलगायतका विकास योजनाका बारेमा गुनासो राखेका थिए भने त्यतिकैमात्रामा स्थानीय सरकारलाई स्यावासी पनि दिए ।

-पाविलन्युजबाट

पालिका प्रेस
थप जानकारी