जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका पदाधिकारीहरुको विदाई गरिएको छ । १९ जेठमा कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै जिसस प्रमुख, उपप्रमुखलगायत सदस्यहरुलाई विदाई गरेको हो । जिससको हलमा आयोजित कार्यक्रममा बोल्दै निवर्तमान प्रमुख रघुनाथ खुलालले ५ वर्षे कार्यकाल सुखद रहेको बताए ।

आफ्नो पाँच वर्षे कार्यकाल सुखद रहेको बताउँदै उनले यसमा कार्यालयका कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्था, राजनैतिक दललगायत सम्पूर्ण मकवानपुरवासीको साथ र सहयोग प्राप्त भएको बताए । सीमित स्रोत साधन र ऐन नियमको अभावमा पनि जिसस मकवानपुरबाट थुप्रै कामहरु भएको भन्दै आगामी दिनमा समेत संस्थाबाट त्यस्तै हुने विश्वास व्यक्त गरे । उनले नयाँ आउने पदाधिकारीहरुले संस्थाको साख नगिरने गरि काम गरुन भन्ने चाहना रहेको र यसमा आवश्यक सहयोग गर्न हरदम तत्पर रहेको समेत बताए । उनले नयाँ आउने पदाधिकारी र कर्मचारीले सकारात्मक भएर काम गरेमा पक्कै सफलता प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीलगायत अन्य सदस्यहरुले पनि आ–आफ्नो पाँच वर्षको अनुभव आदान प्रदान गरिन् । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिसस सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सिता अधिकारी, बुद्धिबहादुर मुक्तान, चित्रबहादुर बलामी, सरिता विक, स्वकीय सचिव आशाकाजी श्रेष्ठलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी