सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेटौंडा कपडा उद्योग उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने समेत सरकारको उद्घोष छ । तर, पटक–पटक पुनः सञ्चालनको प्रयोग गरेर पनि यो उद्योग चलाउन सरकार असफल हुँदै आएको छ ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन २०६४ सालदेखि नै प्रयत्न भएको हो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५६ सालदेखि बन्द छ । २०३५/३६ देखि व्यावसायिक रुपमा उत्पादन सुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा पनि उद्योग चलाउन तयारी गरिएको थियो । तर, उद्योग परिसर सफाइ गरेर भवनको मर्मत सम्भार भइसकेको अवस्थामा राजनीतिक किचलोका कारण योजना तुहिएको थियो ।

१२ माघ ०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा नै मन्त्रिपरिषद् बैठकले हेटौंडा कारखानाको सम्पत्ति सेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो । त्यतिबेला नै सरकारले यो उद्योग अब सञ्चालन गर्न नसकिने निष्कर्ष गरेको थियो ।

२०७३ सालमा नवीन्द्रराज जोशी उद्योगमन्त्री हुँदा पनि उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न समिति बनाइएको थियो । त्यतिबेला सेनाले पनि सो उद्योग सञ्चालनका लागि चासो दिएको थियो । तर, सरकारले चाहेजसरी उद्योग सञ्चालनको वतावरण बनेन ।

२०७५ सालमा तत्कालीन उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको निर्णयमा नेपाली सेना सहितको संलग्नतामा एक कार्यदलमार्फत हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्नेबारे अर्को अध्ययन गराएका थिए । उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गर्दै कार्यदलले कपडा उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको थियो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरुप भएको अध्ययन प्रतिवेदन पनि पनि त्यतिकै थन्कियो ।

करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निष्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो । प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको थियो । जसमा सेनाको एकल लगानीदेखि सरकारको र सेनाको संयुक्त लगानीसम्मका मोडालिटी प्रस्ताव गरिएका थिए ।

उद्योगका केही मेसिन अहिले पनि मर्मत गरेर चलाउन सकिने अवस्थामा भेटिएको सो प्रतिवेदनमा उल्लेख छ । धेरैजसो मेसिन नयाँ ल्याउनुपर्ने कार्यदलको ठहर थियो ।

हेटौंडा कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा नै सञ्चालन भएको थियो ।

तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भयो । प्रत्यक्ष १५ सयभन्दा बढीलाई रोजगारी दिन सक्ने यो उद्योगमा बन्द हुनुअघि चरम राजनीतिकरण मौलाएको थियो ।

तत्कालीन अवस्थामा कर्मचारीहरुले ठूलो दरमा सेवासुविधा वृद्धिको माग पूरा गर्दै आन्दोलन गरेको थिए । आन्दोलनका श्रृङ्खला सुरु हुनु अघिसम्म उद्योग नाफामा थियो ।

‘यो उद्योग हटाएर यहाँ नयाँ उद्योग चलाउन दिने कि फेरि कपडा उद्योग चलाउने भन्नेबारे सरकार सधैं अलमलमा थियो,’ औद्योगिक क्षत्रेका प्रमुख कँडेलले भने,‘अहिले पनि उद्योग चलाउने सम्भाव्यताबारे एक समितिले अध्ययन गरिरहेको बुझेको छु ।’

उनका अनुसार अहिले कपडा उद्योगको भवन र मेसिनहरु सबै जीर्ण छन् । कपडा उद्योगमा अहिले सशस्त्र प्रहरीको १४ नम्बर गुल्म बसेको छ । ‘उद्योग चल्ने भयो भने उहाँहरु अन्यत्र सर्नुहुन्छ’ उनले भने ।

पालिका प्रेस
थप जानकारी