थाहा नगरपालिकाको आयोजनामा  गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत् थाहा–१२ तारुकाका महिलाहरुले हाते होजियारी(ऊनको कपडा बुन्ने)सम्बन्धी १५ दिने तालिम लिएका छन् ।
मेड्पाको सीप विकास तालिम अन्तर्गत् तारुकाका ९ जना विपन्न वर्गका महिलाहरुलाई होजियारी तालिम प्रदान गरिएको थाहा नगरपालिकाका उद्यम विकास सहजकर्ता सुनिता बुढाले जानकारी दिइन् ।

तालिममा महिलाहरुले ऊनको धागोबाट स्वीटर, टोपी, मोजा, गलबन्दी, पञ्जा, पछेउरा, रुमाल, जामा आदि बुन्न सिकेको बुढाले बताइन् । उनीहरुलाई सरिता थापाले प्रशिक्षण दिएकी थिइन् ।

तालिम पछि तालिममा सहभागी महिलाहरुले भविष्यमा घरमै बसेर व्यवसायिक रुपमा होजियारीको काम गर्ने बताएका छन् । उनीहरुलाई घरमै बसेर ऊनको कपडा बुन्न सहयोग होस् भनेर
मेड्पाले सहयोगी सामग्रीहरु पनि प्रदान गरिएको लघुउद्यम सहजकर्ता दिक्षा पाण्डेले जानकारी दिइन् ।

होजियारीको कामलाई निरन्तरता दिइराखे उनीहरुलाई थप व्यवसायी र आत्मनिर्भर बनाउन आगामी समय थप सहयोग गरिने मेड्पाले जनाएको छ ।

तालिम समापन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिब ओब्जङबहादुर रोकाया लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी