मकवानपुर थाहा नगरपालिकामा महिला, बालबालिका, किशोरी, जेष्ठ नागरिक र पिछडिएका वर्गलाई मूल प्रभाविकरण र सशक्तिकरणको लागि पालिकाले योजना निर्माण गरी कार्यान्वयन गर्न थाहानगर प्रमुख (मेयर) विष्णु विष्ट ‘आदर्श’लाई अनुरोध गरिएको छ । थाहानगरमा क्रियाशील दामन चेली समाजले २४ जेठमा थाहाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भेटी पिछडिएका बर्गको रुपान्तरणको संस्थाले पनि काम गरिरहेको बताउँदै यि लक्षितवर्गका लागि कार्यक्रम संचालन गर्न आग्रह गरेका हुन् ।

संस्थाले महिला बालबालिका र पछाडि पारिएकाहरुको सशक्तीकरणका लागि काम गरिरहेको दामन चेली समाजकी सदस्य उर्मिला गोपालीले जानकारी गराइन् । चेली समाज र थाहा नगरपालिकासंग समन्वय गरेर थाहानगर भित्र रहेका किशोरी, महिला, जेष्ठ नागरिक, अपांगहरुको सशक्तिकरणको निम्ति आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा सबैको आवाज समेट्न समाजकी अध्यक्ष जयन्ती रायमाझीले आग्रह गरिन् ।

पालिकाले आगामी आर्थिक वर्ष किशोरी लक्षित आत्मरक्षाका तालिम, विपन्न तथा किशोरीहरुलाई महिनावारी हुँदाको हेरचाह, महिला स्वास्थ्य शिविर तथा महिलाहरुलाई आर्थिक रुपले सबल बनाउन स्वरोजगारमुलक तालिम सम्बन्धी कार्यक्रम तर्जुमा गर्न पनि समाजले थाहानगरलाई आग्रह गरेको छ।

चेली समाजले नवनिर्वाचित नगर प्रमुख, उपप्रमुखलगायत १२ वटै वडा अध्यक्षहरुलाई बधाई तथा सम्मान गरेको छ । महिलाहरुको मागप्रति प्रमुख बिष्टले धन्यवाद दिए । उनले आफू महिला, बालबालिका, अपाङ्ग तथा पिछडिएका वर्गको हितको लागि कार्यक्रम संचालन गर्न आफू प्रतिवद्ध रहेको प्रतिक्रिया दिए ।

पालिका प्रेस
थप जानकारी