दाङको राप्ती गाउँपालिकामा राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न गरिएको छ ।  राप्ती गाउँपालिकामा लिइने राजस्व असुलीमा सुधार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, राजस्व परामर्श समिति संयोजक उपाध्यक्ष जगदम्बाकुमारी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको सहभागी कार्यक्रममाअ कार्यपालिका सदस्य एवं शाखा प्रमुखको उपस्थित थिए ।

हालसम्म नागरिकवाट गाउँपालिकाले लिइरहेको राजस्व तथा करका विषयमा स्पष्टता ल्याउन राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला आयोजना गरिएको हो । डायनामिक रिसोर्स म्यानेजमेन्ट सर्भिसेज काठमाडौंको सहजीकरणमा भएको कार्यशालामा कर राजस्वतर्फ सम्पत्ति कर, भूमिकर मालपोत, व्यवसाय कर, घरजग्गा वहाल कर, जडीबुटी, कबाडी र जीवजन्तु करका विषयमा छलफल गरिएको थियो ।

राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशालामा गैरकर राजस्वतर्फका सिफारिस प्रमाणित दस्तुर, भवन निर्माण अनुमति दस्तुर, सेवाशुल्क, बिक्री, सम्पत्ति भाडालगायत विषयमा सहभागीलाई जानकारी दिइएको थियो । कार्यशालामा गाउँपालिकाले वडागत तथा पालिका स्तरमा लिँदै आएको राजस्वमा प्रदेश र संघीय कानुनसँग बाझिएका वा समस्या परेका विषयमा समेत छलफल गरिएको थियो । पालिकाको स्वामित्वमा रहेको जग्गा र यसको हालको उपयोग, पालिका क्षेत्रभित्रको सार्वजनिक र पर्ति ऐलानी जग्गा र यसको हालको उपयोगको अवस्था, पालिका क्षेत्रभित्रका महत्त्वपूर्ण पर्यटकीय र धार्मिक स्थल एवं प्रयोगको अवस्था तथा सेवाशुल्कको अवस्था र आन्तरिक आयस्रोतको विवरणबारे छलफल गरिएको थियो ।