मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको संख्या तीनगुणा बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार संख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको संख्या ९२ रहेको छ ।

यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १ सय ४४ भित्रिदा ९२ परिवारका ३ सय ५० नागरिक बाहिरिएका छन् । गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको संख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिएका छन् । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन् । पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताएका छन् ।

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३ सय ७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३ सय ११ बालकको र ३ सय ४४ बालिकाको जन्मदर्ता भएको छ ।

त्यस्तै १ सय २२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३ सय ६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।

पालिका प्रेस
थप जानकारी