हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।

कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेकि छन् ।

“अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भनिन् । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उनले भनिन् ।

बालविवाह रोक्नका लागि बालिका आफैँ सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुुरु गरिएको उनको भनाइ छ । बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन् ? भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्रम अघि बढाइएको नगरप्रमुख राईले बताइन् ।

च्यास्मिटार माविबाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम प्रभावकारी बनाउँदै अन्य वडा एवं विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ ।

नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ ।

शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउने गर्छन् ।

पालिका प्रेस
थप जानकारी