पोखरा महानगरपालिकामा खानेपानी आयोजनाका नाममा पाइप गाड्न खाल्डो खनियो, तर पाइप नराखी खाल्डो पुरियो र आयोजना पूरा भएको भनेर रकम भुक्तानी पनि भयो । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पोखरा १९, घार्मीमा ‘एक घर, एक धारा’ आयोजना विस्तारका क्रममा पाइप नराखी खाल्डो पुरिएको शीर्षकमा ६ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिइएकोबारे प्रश्न उठाएको हो ।

उपभोक्ता समितिमार्फत महानगरले उक्त आयोजना सञ्चालन गरिरहेको छ । तर, महालेखाले समितिबाट सम्पादित उक्त आयोजनाको फाँटवारी परीक्षण गर्दा पनि पाइप खपत नभएको देखिएको उल्लेख छ । ‘सामान्यतया पाइप खपत भएको अवस्थामा मात्र पाइप लाइन खन्ने पुर्ने कार्य हुन्छ,’ महालेखाले भनेको छ, ‘यस सम्बन्धमा उपभोक्ता समितिबाट सम्पादित खानेपानी आयोजनाको फाँटवारी परीक्षण गर्दा खानेपानी आयोजनामा पाइप खपत नभएको अवस्थामा पनि भुक्तानी भएको छ ।’

महालेखाका अनुसार घार्मीमा खानेपानी आयोजना विस्तार गर्दा ९४४ घनमिटर पाइपलाइन खन्न प्रतियुनिट ५३३ रुपैयाँ र ६९९ घनमिटर पुर्न प्रतियुनिट २१३ रुपैयाँमा भुक्तान गरिएको छ । आयोजनाको लागत अनुमानमा पाइप खरिदको आइटम नरहेको तथा उपभोक्ता समितिले स्वयंम् खरिद गरेको हो वा अन्य कुनै निकायबाट प्राप्त गरेको हो त्यसबारे पनि विवरण नखुलाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यसरी पाइप खपत नभएको अवस्थामा उपभोक्ता समितिलाई पाइपलाइन खन्ने र पुर्ने कार्यको भुक्तानी भएको सम्बन्धमा एचडिपिई पाइप भए वा नभएको प्राविधिक नापचाँज गरी यकिन गर्नुपर्ने ।’ घार्मीमा मात्रै नभएर पोखराकै बकुने बोरिङ खानेपानी योजनामा पनि पाइपबिनै पाइप लाइन खनेर पुरेको भुक्तान भएको छ । उक्त योजनामा पाइपबिनै पाइप लाइन खनेर पुरेको शीर्षकमा ५ लाख ७९ हजार रुपैयाँ भुक्तान भएको महालेखाले उल्लेख गरेको हो ।

‘उक्त आयोजनाकोलागत अनुमानमा पाइप खरिदको आइटम नरहेको तथा उपभोक्ता समितिले स्वयं खरिद गरेको हो वा अन्य कुनै निकायबाट प्राप्त भएको सोको विवरण खुलेको छैन,’ महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । हालका वडाध्यक्ष पुष्पेन्द्र पाण्डे पनि उक्त खानेपानी योजनामा अनियमितता भएकोबारे गुनासो आउन थालेको अनलाइनखबरलाई जानकारी दिए । ‘त्यसका धेरै समिति रैछन् । काम भयो भन्दै रकम लाने रैछन्,’ उनले भने, ‘म आको पनि धेरै भाको छैन । योबारे मलाई पनि गुनासो आइराखेको छ । बुझ्नुपर्छ ।’

उक्त उपभोक्ता समितिका उपाध्यक्ष महेश्वर पौडेलले धारा घरघर जोडिदिएको तर, यथार्थ आफूलाई पनि थाहा नभएको बताए । ‘के गरे खोई, यो कुरा अध्यक्षलाई नै थाहा होला,’ उनले भने, ‘केही ढिलो भएको त हो । तर, काम पनि भएकै छ । खाल्डोमात्रै खनेर पुरेकोचाहिँ होइन ।’

पालिका प्रेस
थप जानकारी