हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए ।

उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र लागू हुनेछ । निर्णयअनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुने मेयर लामाले बताए । उक्त सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । नि:शुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा उल्लेख गरिएको छ । ‘उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिएको हकमा हामी विशेष निर्णय पछि गर्नेछौं,’ मेयर लामाले भनिन् ।

सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा समेत यो विषय समेटिएको थियो ।

पालिका प्रेस
थप जानकारी