काठमाडौंको गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी फरार भएपछि सहकारी पीडितले सहकारी विभाग गुहारेका छन् ।

सहकारीका सञ्चालकहरु बचतकर्ताको पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएको भन्दै पीडितहरु सहकारी विभागमा पुगेका छन् । सञ्चालक फरार भएपछि सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ ।

सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएको भन्दै बचतकर्ताहरु विभागमा आएको विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।

‘सहकारीको बचतकर्ताले पैसा सहकारीमा राखेको र अहिले पैसा निकाल्न जाँदा पैसा फिर्ता नदिएर सञ्चालकहरु फरार भएको भन्दै पीडितहरु गुनासो लिएर आउनुभएको छ,’ उनले भने, ‘पीडितहरु गुनासो लिएर आएपछि विभागले सहकारीको अवस्था के हो, सहकारीको चल–अचल सम्पत्ति के कति छन्, विभागको अनुमतिविना नखोल्नु भनेर प्रहरी प्रधान कार्यलयलाई पत्राचार गरेका छौं ।’

सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक-पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ ।

सहकारीको कार्यलय रहेको कुलेश्वरस्थित भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका सञ्चालक रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेकोले सहकारी पीडितको घेराबन्दीपछि बैंकले उक्त भवनमा सिल गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।

‘सहकारीसँग बैंकको कुनै पनि लेनदेन छैन । सहकारीको बचतकर्ताको भिडभाड भएको र त्यहाँबाट एउटा गाडी पनि उठाएर लगेको सूचना हामीले पायौं,’ उनले भने, ‘सकहकारी भवनमा नै गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर पनि छ । त्यसमा बैंकको लगानी थियो, सहकारी पीडितको भीडले उक्त स्टोरका सामान यताउता नहोस् भनेर हामीले सिल गरेर सूचना टाँसेका छौं ।’

सम्बन्धित ऋणीलाई सम्पर्क गर्न खोज्दा बैंकको सम्पर्कमा नआएपछि बैंकहले सूचना टाँसेको उनले बताए । बुधबार साँझसम्म सहकारीका अध्यक्ष गौतम बैंकको सम्पर्कमा भएपनि बिहीबारबाट सम्पर्कविहीन भएपछि बैंकले बिहिबार साँझ नै भवनमा सिल गरेर उक्त सूचना टाँसेको उनले बताए । बैंकले सहकारीको कार्यालय भएको भवनमा सिल गरेर सूचना टासेको देखिपछि शुक्रबार सहकारीका पीडितहरु जम्मा भएर सहकारी विभाग पुगेका हुन् ।

गौतमका अन्य व्यवसायमा बैंकको कारोबार रहेको र बैंकले लगानी गरेको ठाउँमा रहेको स्टक सामानमा जोखिम देखेपछि बैंकले बैंकका सीईओ खालिङले बताए । ‘वास्तविक अवस्था के हो भन्ने थाहा छैन, हाम्रो कारोबार भएको ठाउँमा सहकारीका मान्छेको भीड भएपछि त्यसलाई रोक्न पनि सिल गर्नुपर्यो,’ उनले भने, ‘बुधबारसम्म सम्पर्कमा रहेका सञ्चालक हिजोबाट सम्पर्कमा पनि हुनुहुन्न । सहकारीमा उहाँहरुको लेनदेन के हो हामीलाई जानकारी छैन ।’

सहकारी विभागमा अहिलेसम्म सहकारीबाट ठगी भएको कुनै लिखित उजुरी भने प्राप्त नभएको विभागका सूचना अधिकारी उपाध्यायले बताए । यद्यपि पीडितहरुको मौखिक सूचनाको आधारमा सहकारी सम्पत्ति रोक्का भनेर प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरको उनले बताए ।

‘सहकारीको कार्यालय बन्द छ, बन्द रहेको कार्यलयको जिम्मेवार अधिकारीहरु, अध्यक्ष सञ्चालक, व्यवस्थापक लगायतलाई विभागमा उपस्थित गरादिनुहोला भनेर प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘आइतबार १ बजे पीडितलाई पनि लिखित निवेदन दिन र सहकराीको जिम्मेवार अधिकारीलाई पनि उपस्थित गराउन प्रहरीलाई पत्राचार भएकोले त्यसपछि मात्रै यसमा थप प्रक्रिया अगाडि बढ्छ ।’

सहकारीको बचतकर्ता कति छन् र कति रकम ठगी भएको भन्ने आइतबार छलफलपछि मात्रै थाहा हुने उनले बताए । कार्यक्षेत्र पनि कति हो भन्ने स्पष्ट नरहेको उनी बताउँछन् ।

तर, एक प्रदेशभन्दा बढीमा शाखा रहेकोले संघीय सहकारी विभागको नियमन क्षेत्राधिकारभित्र सहकारी पर्ने भएकोले सम्पत्ति रोक्का र सम्बन्धित अधिकारीलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको उनले बताए । थप अनुसन्धान प्रहरीमार्फत नै अगाडि बढ्न उनले बताए ।

‘आज २०० भन्दा बढी पीडित आउनुभएको थियो, सबैको लाखौं बचत थियो भन्ने आएको छ, कति रकम थियो भन्ने खुलेको छैन’ उनले भने ।

सहकारी सञ्चालक गौतमले सकारीको कार्यलय रहेकै स्थानमा गौतमश्री अर्गानिक एण्ड काउ फार्म साथै मार्ट र विभिन्न कृषि सामग्रीको स्टोर पनि सञ्चालन गर्दै आएका थिए । उनी गौतम समूहका नाममा विभिन्न व्यापारमा संलग्न थिए ।

पालिका प्रेस
थप जानकारी