• सुस्मिता बजगाईं

साहित्यकार बिर्खे अन्जान (लक्ष्मण बर्तौला) ले ‘मकवानपुरका काव्य : अवलोकन र अध्ययन’ नामक अनुसन्धानात्मक ग्रन्थ बजारमा ल्याएका छन्। काव्य विधामा केन्द्रित भएर लेखिएको जिल्लाकै पहिलो खोजमूलक ग्रन्थका रूपमा साहित्यकार अन्जानले पुस्तक प्रकाशनमा ल्याएका हुन्। नेपाली कविता विधामा मकवानपुरको लेखकीय प्रवृत्ति, विशेषता र पहिल्याउनुका साथै स्रष्टाहरूको योगदानको चर्चासहितको इतिहास तयार गर्नु नै यस कृतिको मूल उद्देश्य रहेको लेखक अन्जानले बताए।

मकवानपुर जिल्लाको ऐतिहासिक परिचयसहित लेखक अन्जानले मकवानपुरका कविता, गजल र मुक्तक विद्यामा कलम चलाउने ७७ जना प्रतिनिधि कविको परिचयसमेत उल्लेख गरेका छन्।  कवि बिर्खे अञ्जान नेपाली भाषा–साहित्यको क्षेत्रमा सक्रिय व्यक्ति हुन। मकवानपुरको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकासमा उनको सक्रियता प्रेरणादायी छ।

पुस्तक मकवानपुरको काव्यको अवस्था र वर्तमान समयको समकालीन चर्चित स्रष्टाको बारेमा पनि जानकारीका लागि उपयोगी बन्नेछ।  पुस्तकमा मकवानपुरबाट प्रकाशित साहित्यिक पत्रिका र अखबारहरुको नाम, जिल्लाका विभिन्न साहित्य संघसंस्थाहरूको नाम र चर्चित पर्यटकीय क्षेत्रहरुको पनि वर्णन गरिएको छ। वागमती प्रदेशको राजधानी मकवानपुर जिल्ला भौगोलिक विविधता, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलको रूपमा चर्चित छ। अग्ला अग्ला डाँडापाखा र पहाडदेखि समथर तराईसम्मको भूबनोटले घेरिएको तथ्यलाई पनि पुस्तकमा समेटिएको छ।

सौन्दर्यले भरिएको जिल्लाको ऐतिहासिक मकवानपुरगढी, सहिद स्मारक, कुलेखानी जलविद्युत, ऋषेश्वर महादेव, इन्द्रसरोवर ताल, लालीगुराँस र सुनगाभाको प्राकृतिक सुन्दरताले सजिएको दामन भ्युटावर, पालुङको ठूलो चेप्टो ढुंगालगायतका मकवानपुर जिल्लाको समग्र चर्चित ठाउँहरुको वर्णन पनि पुस्तकमा गरिएको छ। जिल्लाको नामकरण र जिल्लासँग जोडिएका केही महाभारतमा उल्लेख भएका ऐतिहासिक सन्दर्भसमेत समेटिएकोले पुस्तक अझै सान्दर्भिक छ।

हेटौँडा नामकरण, मकवानपुरमा तामाङ जातिको संख्या बढी हुनका कारण, जिल्लाको उत्तरीक्षेत्रमा रहेको पालुङ सहरको ऐतिहासिक सन्दर्भ, सयौँ वर्ष पुरानो च्याप्टो ढुङ्गाको रहस्य, नेवारको प्राचीन बस्तीे झल्काउने एउटै किसिमको मनमोहक घरको इतिहास, चित्लाङ नाम रहनुको इतिहास, सेन वंशको ऐतिहासिक पृष्ठभूमि र सेन शासन कालजस्ता ऐतिहासिक सन्दर्भहरुको पनि संक्षिप्त इतिहास उल्लेख गरिएको छ।

मकवानपुरको काव्य जगत्‌लाई मात्र नभएर सिंगो जिल्लालाई नै परिचित गराउन पुस्तकले ठूलो भुमिका निर्वाह गरेको छ। कृतिमा नेपाली कविता, गजल र मुक्तकको लेखन परम्पराको थालनी, माध्यमिक कालको उत्तरार्ध चरण, नेपाली कवितामा आधुनिक कालका स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा, कविता विधामा मकवानपुरको उपस्थितिको पनि वर्णन गरिएको छ।

मकवानपुरका कविता, गजल र मुक्तक विधामा अहिलेसम्म प्रकाशित भएका कृतिको अभिलेखीकरण गर्नुका साथै प्रकाशित सिर्जनाको अध्ययनमा देखिएको विशेषता र स्रष्टाको आफ्नै प्रवृत्ति, क्षमता एवम् वैचारिक दक्षताको कारण कमजोर पक्षको पनि दृष्टिगत गरिएको छ।  पुस्तकलाई थाहा नगरपालिकाले प्रकाशन गरेको हो।

पालिका प्रेस
थप जानकारी