कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउन नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ । कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउन लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो ।

नगरपालिकाको अहिलेको आन्तरिक आयको स्रोत करिब सात करोड छ । आन्तरिक आयका स्रोतको पहिचान हुन नसक्दा नगरपालिकाको स्रोतको पाटो मजबुत बन्न सकेको छैन । कृषि, पर्यटन, उद्योग र व्यापारलाई मुख्य प्राथमिकतामा राखेको नगरपालिका त्यसैअनुसारका निकायसँग समन्वयका लागि छलफल सुरु गरेको नगरपालिकाका नगर प्रमुख रामलाल डगौँरा थारु बताए ।

नगरपालिकामा पर्यटन क्षेत्रका लागि थुप्रै सम्भावना छन् । टीकापुर पार्क सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्दै आएको छ । पार्कमा आन्तरिक तथा बाह्य गरी वार्षिक करिब एक लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । नगरपालिकाले पार्कबाट वार्षिक रु ५० लाखसम्म आम्दानी गर्दै आएको छ । त्यस्तै अन्य थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले साझेदारी संस्थाको खोजी गर्दै आएको छ ।

नगर प्रमुख थारुले आफ्नो नगरपालिकामा लगानीका क्षेत्र विस्तारका लागि सम्भावना भएका लगानीकर्ता र सङ्घसंस्थासँग छलफल चलाएको बताए ।

उनले बैंक तथा वित्तीय संस्था, निजी लगानीकर्ता तथा गैरसरकारी संस्थासँग समन्वय गरेर लगानी बढाउने र विकासलाई पनि द्रुत गतिमा अगाडि लैजाने रणनीतिमा नगरपालिका रहेको बताए ।

‘सम्भावना धेरै छन् । तिनको पहिचान र परिचालनमा मात्रै समस्या देखिएको हो,’ नगरप्रमुख थारुले भने, ‘नगरपालिकाले साझेदार संस्थासँग समन्वय गर्न सक्नेसँग साझेदारीमा लगानी गर्नका लागि पनि योजना बनाएको छ ।’

नगरपालिकाले लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको तयारीलाई पनि तीव्र बनाएको छ । देशभरका उद्योगीलाई टीकापुरमा लगानी गर्न वातावरण सिर्जना गर्नुका साथै लगानीका लागि प्रेरित गर्ने उद्देश्यले लगानी सम्मेलनको तयारी गरिएको नगर उपप्रमुख खडकबहादुर शाहले बताए ।

‘हामी केही समयपछि लगानी सम्मेलन गरेर टीकापुरमा ठूलो लगानी भित्र्याउने प्रयत्नमा लागेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँगै ठूला व्यवसायीसँग समन्वय र छलफलमा जुटेका छौँ,’ नगरउपप्रमुख शाहले भने ‘लगानी भित्र्याउन सकेपछि रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जनका गतिविधि चलायमान हुने छन् भने त्यसले नगरपालिकाको आन्तरिक आयको स्रोत पनि मजबुत बन्दै जानेछ ।’

नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्नका लागि औद्योगिक ग्रामको स्थापनाको तयारी पनि थालेको छ । सङ्घीय सरकारसँग आवश्यक परामर्श गरेर औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको उपप्रमुख शाहले बताए ।

‘एक निश्चित क्षेत्रलाई औद्योगिक ग्रामका रूपमा विकास गर्नका लागि सङ्घीय सरकारको मापदण्डअनुसार काम अगाडि बढेको छ,’ उनले भने, ‘त्यसपछि हामी बलियो भएर प्रस्तुत हुनसक्छौँ । परनिर्भरताले हामिले चाहेको पालिकाको विकास सम्भव छैन ।’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले नगरपालिकाको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि विमानस्थल र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीको सन्कट्टीको पुल महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसको सफलता हासिल भइसकेको बताए ।

पालिका प्रेस
थप जानकारी