हेटौंडा उपमहानगरपालिकाभित्र कार्यक्षेत्र भएर पनि कार्यालय सञ्चालन नगरी झोलाभित्रै थन्किएका सहकारीहरुलाई कारबाही गर्ने तयारी अघि बढेको छ ।
सर्वसाधारणको लाखौं रकम उठाएर कार्यालयसमेत नराखी सञ्चालन हुँदै आएका वा अस्तित्वमै नभएका करिब १३ वटा सहकारीलाई हेटौंडा उपमहानगरले खारेजीको प्रक्रियामा लाने भएको छ । उपमहानगरका उद्योग, सहकारी, पर्यटन शाखा प्रमुख हिमप्रसाद पौडेलका अनुसार नगरभित्रका अस्तित्वमै नरहेका सहकारीहरुलाई कारबाही गरिने बताए । हेटौंडाका करिब १३ वटा सहकारीको कार्यालय, उनीहरुको कारोबार, सर्वसाधारणको लगानी सुरक्षाको कुनै जानकारी नभएपछि उपमहानगरले खोजी अघि बढाएको छ । करिब एक वर्ष अघिदेखि नै सहकारी दर्ता गर्ने व्यक्तिको झोलामा थन्किएको र झोलाबाटै चलेका सहकारीको खोजी उपमहानगरले गरेको थियो ।

उपमहानगरले कारबाही प्रक्रिया अगाडि बढाउने भएपछि मंगलबार हेटौंडाकै एक सहकारी कार्यालयको सम्पर्कमा आएको छ । उक्त सहकारीलाई सचेत गराइएको पौडेलले जानकारी दिए । हेटौंडा–१ मा दर्ता भएको नारी बचत तथा ऋण सहकारी, २ नम्बर वडाको जलजला जडिबुटी सहकारी, ३ नम्बर वडाको सुखी भविष्य बचत तथा ऋण सहकारी, ४ नम्बर वडाको जय कालिका बचत तथा ऋण सहकारी, नागरिक बचत, कान्तिपुर बचत र स्वतिक बचत तथा ऋण सहकारी, ७ नम्बर वडाको महालक्ष्मी कृषि सहकारी, ११ नम्बर वडाको महिला घरेलु सामान उत्पादन तथा बिक्री वितरण सहकारीको अत्तोपत्तो नरहेको कार्यालयले जनाएको छ ।

यसैगरी, १३ नम्बर वडाको नमोबुद्ध बचत तथा ऋण सहकारी, १६ नम्बर वडाको जुरेथुम कृषि सहकारी संस्था र १८ नम्बर वडाको आँपखोला दुग्ध उत्पादक सहकारी तथा रामधुनी महिला दुग्ध उत्पादक सहकारीलाई उपमहानगरले हालसम्म फेला पार्न सकेको छैन । यी सहकारीहरुको आर्थिक कारोबारमाथि कार्यालयले आशंका गरेको छ । पौडेलले कार्यालयको सहकारी शाखा सम्हालेपछि अव्यवस्थित, अनियमिता गरेका र झोलाबाट चलेका सहकारीहरुलाई कारबाही सुरु भएको हो । यसअघि सहकारीहरुले मनलाग्दी गर्दासमेत कार्यालय बेखबर थियो ।

संघीय सरकार मातहतको तत्कालीन डिभिजन सहकारी कार्यालय मकवानपुरमा दर्ता भई हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका सहकारीको अनुगमन गर्ने क्रममा १३ सहकारी संस्था गायब रहेका पाइएको हो । उपमहानगरभित्र २ सय २२ सहकारी संस्था छन् । तत्कालीन डिभिजन सहकारीबाट संघीयता स्थापनासँगै २०७४ सालमा हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी हस्तान्तरण भएको थियो । सहकारी संस्थाले वार्षिक लेखा परीक्षण, साधारणसभालगायत अन्य अतिआवश्यक कामहरु समेत नगरेको पौडेलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी